दिपक चौरसिया
वीरगञ्ज २५ बैशाख । नारायणी अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने क्लिनिकल अडिट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझी नेतृत्वको टोलीको उपस्थितिमा वैशाख २४ र २५ गते कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चितरन्जन शाह तथा अस्पतालका विभिन्न विभागका प्रमुखहरु टोलीको समेत सहभागिता रहेको थियो।
प्रस्तुतीकरणका क्रममा अस्पतालमा प्रदान भइरहेका स्वास्थ्य सेवाको अवस्था, सेवा प्रवाहमा देखिएका चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत समीक्षा गरिएको थियो । क्लिनिकल अडिटमार्फत बिरामीलाई अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको अस्पतालले जनाएको छ।
साथै अस्पतालमा बिरामीहरूको दिनहु चाप बढिरहेका र खासगरी इमर्जेन्सी वार्डमा डाक्टरहरूको अभाव हुँदा थप दरबन्दी गर्न र विभिन्न प्रकारका भ्याक्सिनहरू अभाव नहुन दिन पूर्व तयारी गर्न सुझाव राखिएको थियो ।
कार्यक्रमले अस्पतालको सेवा प्रणालीलाई थप व्यवस्थित, उत्तरदायी र नागरिकमैत्री बनाउने विश्वास लिइएको नारायणी अस्पतालका मेसु मेडिकल सुपरिन्टेन्डेन्ट डा. चितरन्जन शाह जानकारी गराए ।




