गण्डक चोकमा ‘लापसे’ चेकजाँचसहित ट्राफिक जनचेतना अभियान, दुई चालक लागू पदार्थ सेवन अवस्थामा पक्राउ

दिपक चौरसिया
वैशाख २६ — वीरगञ्ज महानगरपालिका अन्तर्गत गण्डक चोकमा सवारी चालकहरूलाई लक्षित गर्दै ‘लापसे’ (लागू पदार्थ सेवन) चेकजाँचसहित ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा तथा नारायणी अस्पतालका चिकित्सकहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सवारी चालकहरूको स्वास्थ्य परीक्षणसँगै लागू पदार्थ सेवन गरेको/नगरेको सम्बन्धमा विशेष जाँच गरिएको थियो ।

Advertisement

कार्यक्रमका क्रममा चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा निम्तिन सक्ने गम्भीर दुर्घटनाको जोखिमबारे जानकारी गराइएको थियो । ट्राफिक प्रहरीले चालकहरूलाई जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गर्दै सडक सुरक्षामा सबैको समान दायित्व रहेको जनाएको छ ।

नारायणी अस्पतालका चिकित्सकीय टोलीले चालकहरूको स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै लागू पदार्थ सेवनसम्बन्धी प्रारम्भिक जाँचसमेत गरेको जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा केही चालकलाई स्वास्थ्यसम्बन्धी आवश्यक सुझावसमेत दिइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवालले लागू पदार्थ सेवन गरी सवारी चलाउनु अत्यन्त खतरनाक र गैरजिम्मेवार कार्य भएको उल्लेख गर्दै यसले चालक मात्रै नभई सर्वसाधारणको जीवनसमेत जोखिममा पार्ने बताए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित रूपमा यस्ता चेकजाँच तथा जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

चेकजाँचका क्रममा दुई जना सवारी चालक लागू पदार्थ सेवन गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात संस्कृतिको विकास तथा जिम्मेवार सवारी सञ्चालनको वातावरण निर्माण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box