सनसाइन इङ्गलिस बोर्डिङ स्कुलमा नवआगन्तुक विद्यार्थीको भव्य स्वागत समारोह सम्पन्न

वीरगञ्ज,११असार। वीरगञ्जस्थित सनसाइन इङ्गलिस बोर्डिङ स्कुलमा बुधबार एक विशेष समारोहबीच नर्सरीदेखि कक्षा ८ सम्म नवआगन्तुक विद्यार्थीहरूको भव्य स्वागत गरिएको छ। समारोहले नयाँ विद्यार्थीहरूलाई आत्मीयता र उमंगका साथ विद्यालय जीवनमा स्वागत मात्र गरेन, उनीहरूको भावी शैक्षिक यात्राका लागि प्रेरणा पनि प्रदान गर्‍यो।

Advertisement

कार्यक्रम विद्यालयकी प्रिन्सिपल कुमारी निधिको अध्यक्षता तथा प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि श्रीवास्तवले कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयको प्रशंसा गर्दै भने, “हालको समयमा अभिभावकहरू भाग्यमानी छन् जो कम शुल्कमै राम्रो शिक्षा प्रदान गर्ने विद्यालय भेटिरहेका छन्।”

कार्यक्रममा हिसान पर्साका उपाध्यक्ष आलोक चौरसियाले विद्यालय सञ्चालक अमित आलोकको शैक्षिक अनुभवको चर्चा गर्दै विद्यार्थीको दक्षता विकासमा कुनै सम्झौता नहुने दृढ विश्वास व्यक्त गरे।

उक्त अवसरमा विद्यालयका चार हाउस क्याप्टेनहरूलाई टिसर्ट र ब्याच प्रदान गरी औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको थियो। साथै, ईसीए को–अर्डिनेटरमा सिम्रन थापा, को–अर्डिनेटरमा दीपक कुशवाहा तथा जुनियर सेग्मेन्ट समन्वयकर्तामा अनु पटेललाई नियुक्त गरिएको विद्यालयका सञ्चालक अमित आलोकले जानकारी दिए।

कार्यक्रममा मानवसेवा आश्रमका देवेश मानव, अभिभावक प्रतिनिधि बावुनन्द पटेल, शिवशंकर, मदन कार्की, पत्रकार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

समारोहमा विद्यार्थीहरूले रंगारंग सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहज सञ्चालन शिक्षिका सिम्रन थापाले गरेकी थिइन्।

विद्यालय प्रशासनले यस्तो आयोजनाले विद्यार्थीहरूमा आत्मविश्वास र विद्यालयप्रतिको अभिरुचि बढाउने विश्वास व्यक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box