प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि आयल निगमले इन्धनको मूल्य घटाउन

काठमाडौं २४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ।

Advertisement

यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३० रुपैयाँले घटाएको छ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत् राखेको छ। खाना पकाउने ग्यासको मूल्य यसअघि जस्तै प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ कायम रहेको निगमले जनाएको छ।

मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १७० रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य १.४२० अमेरिकी डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालित हुँदै आएको जिकिर गरेको छ।

इन्डियन आयल कर्पोरेशनबाट १ जनवरी २०२३ (१७ पुस २०७९)मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर २.५४, डिजेलमा २.९५, हवाई इन्धनमा ४.१३ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ रुपैयाँले बढेर आएको पनि निगमले जनाएको छ।

तर, जनवरी १ देखि १५ सम्मको अनुमानित नाफाको अवस्थालाई मध्यनगर गर्दै मूल्य घटाइएको निगमले दाबी गरेको छ।

निगमले अझै पनि नेपाल सरकारको ऋण र इन्डियन आयल कर्पोरेशनमा तिर्नुपर्ने नियमित तथा बक्यौता भुक्तानी गरी करिब १८ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको पनि बताएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा समेत कच्चा तेलको मूल्य घटेको र इन्डियन आयल कर्पोरेशनबाट समेत मूल्य घटेर आउँदा पनि निगमले इन्धनको मूल्य नघटाएको भन्दै विरोध हुँदै आएको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box