बिरगंज १८ पुस । देश भरी अचानक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि बिरगंज महानगरपालिका र पर्सामा पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्।
बिरगंज महानगरपालिकाले मगलवार देखि बिदा दिने र पोखरिया नगरपालिकाले सोमबारदेखि नै विद्यालय बन्द गरेको निर्णय गरेका छन । बिरगंज महानगरपालिका र पोखरिया नगरपालिकाको कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गरेर पालिकामा रहेका विद्यालयहरूमा सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।
यस्तै वीरगन्ज महानगरपालिकाले पनि महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरू मंगलबारदेखि शुक्रबारसम्म बन्द रहने जनाएको छ।
सोमबार महानगरपालिकाले जारी गरेको सूचनामा प्रतिकुल मौसमका कारण बालबालिकालाई पठनपाठनमा असहज भएकाले हिउँदे बिदामा कट्टा हुने गरी पुस १९ देखि पुस २२ गतेसम्मका लागि विद्यालयहरूमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ।
महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सोमबार साँझ एउटा सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा भोलीदेखि शुक्रबारसम्मका लागि विदा दिइएको जनाएका छन् ।
यसैगरि पर्साकै जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकाले चार दिन बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरूलाई आगामी शुक्रबारसम्म बिदा दिन अनुरोध गरेका छन्।
सोमबार वीरगन्ज र यस आसपासको अधिकतम तापक्रम २२ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ।