बारा १८ पुष । गोली लोड गरिएको पेस्तोलसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल बाराले पक्राउ गरेको छ।
कम्मरमा बाधेको होल्स्टरभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन । उनलाइ बाराको पचरौता नगरपालिका वडा नम्बर ४ स्थित बीओपी बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले गुलरियास्थित नाकाबाट आउँदै गरेका भारतीय नागरिकलाई शंका लागेर चेकजाँच गर्दा पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।
भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नम्बर १६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ पक्राउ परेका चन्दनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।
दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नम्बर २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको उनले बताए ।
त्यसैगरि चन्दनको आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड, ११ हजार २ सय ७० भारतीय रूपैयाँ र मोबाइल सेटसमेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएको सामाग्री सहित चन्दनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि सोही जिल्लाको महागढी नगरपालिका २ भुटहीमा पौष ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षिय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएको थियो ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पाठएकोमा बाटोमा नै मृत्यु भएको थियो । सो घटना पछि सशस्त्र प्रहरिले सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्दै आएको छ ।