बिरगंज १४ पुष । घुस रकम लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिसअनुसार उनलाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए ।
केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।
बुटवलका सुन व्यापारीसँग सुन नियन्त्रणमा लिई रकम माग गरेको सूचना पाएपछि प्रहरी अनुसन्धान टोलीले उनलाई आइतबार पक्राउ गरेको थियो । पक्राउको समयमा उनको निवासबाट ३५ तोला सुन र २५ लाख चेक तथा नगद भेटिएको थियो ।
कास्कीमा सरूवा भएका केसी यही विषय मिलाउन उता हाजिर भएका थिएनन् । सोमबार उता जाने र आइतबार सो रकम व्यापारीसँग लिएको सूचनाका आधारमा प्रहरी अनुसन्धान टोलीले पक्राउ गरेको हो ।