वातावरण विभागले पुस १ गतेदेखि प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई १ लाख जरिवाना

काठमाडौं २२ मंसिर । वन मन्त्रालय अन्तर्गतको वातावरण विभागले पुस १ गतेदेखि प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई १ लाख जरिवाना हुने भएको छ ।

Advertisement

वन मन्त्रालय अन्तर्गतको वातावरण विभागले पुस १ गते पछि विभागको परिक्षणमा प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी दिएको हो ।

साथै सवारीको मर्मत गरी तोकिएको मापदण्डको सिमासम्म मात्र प्रदुषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन सवै यातायात व्यवसायीलाई अनुरोध गरेको छ।

विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौं उपत्यकामा सञ्चालन भईरहेका सवारी साधनहरुको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएकोले आगामी दिनमा विभागले सवारी साधनको धुँवा निस्कासनको अवस्थाको परिक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्न लागेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

हाल सवारी साधनमा धुँवा परिक्षण गर्दा तोकिएका मापदण्ड भन्दा बढी प्रदुषण गरिरहेका सवारी साधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको थियो ।

विज्ञप्तिमा भनिएको छ,‘जुनसुकै समयमा वातावरण विभागबाट छड्के जाँच हुन सक्ने र प्रदुषण जाँचपासको रुपमा यस अघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदुषण जाँचपास अनुतिर्ण हुने सवारीलाई समेत उल्लिखित व्यवस्था बमोजिम जरिवाना लगायतका कारवाही हुने व्यहोरा अनुरोध छ ।’

साथै, आफ्नो टोल छर छिमेकमा खुला रुपमा कोही कसैले फोहोर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी वातावरण विभागमा गराउन समेत अनुरोध गरेको छ ।

हिउँदको मौसममा काठमाडौं उपत्यका लगायत देशका धेरै ठाउँहरुमा वायु प्रदुषणको अवस्था विग्रदै गएको छ । वायु प्रदुषणका मुख्य कारकहरुमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहोर जलाउदा निस्कने धुँवा प्रमुख कारणहरु रहेकाले विभागले कडाई गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box