काठमाडौं, चैत्र २३ — कपिलवस्तुमा केही दिनअघि भएको घटनामा घाइते भएका अर्णा यादवको उपचारका क्रममा निधन भएकोप्रति नेपाल विश्व हिन्दु महासंघले गहिरो दुःख व्यक्त गरेको छ। महासंघले दिवंगत यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–२, बरयारामा हिन्दु मन्दिरमा भएको तोडफोडको विरोधमा भएको शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर यादव घाइते भएका थिए। उपचारकै क्रममा उनको निधन भएको हो।
महासंघले उक्त घटनालाई गम्भीर र संवेदनशील भन्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गरेको छ। साथै, यस किसिमको अमानवीय तथा दमनकारी कार्यप्रति कडा शब्दमा निन्दा तथा भर्त्सना गरिएको छ।
नेपाल विश्व हिन्दु महासंघले मृतक अरुन यादवलाई तत्काल शहीद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा संलग्न दोषी प्रहरी र योजनाकारमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघले यस्ता घटनाको पुनरावृत्ति रोक्न र देशभर धार्मिक सद्भाव कायम राख्न सरकारलाई गम्भीर हुन समेत आग्रह गरेको छ।




