वीरगञ्ज २० चैत्र । वीरगञ्ज महानगरपालिकामा एक ११ वर्षीया बालिकामाथि दुर्व्यवहारको प्रयास गरेको आरोपमा ५० वर्षीय इस्माइल मिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज–८ स्थित दुर्गा रोडमा रहेको आफ्नै पसलमा पुगेकी बालिकालाई मियाले पसलभित्र बोलाई अनुचित व्यवहार गर्ने प्रयास गरेका थिए। बालिका पुरानो बाँकी रकम बुझाउन पसलमा गएकी थिइन्।
प्रहरीका अनुसार जबरजस्ती हुन थालेपछि बालिकाले साहसपूर्वक प्रतिकार गर्दै आरोपितको हात टोकेर त्यहाँबाट उम्कन सफल भइन्। त्यसपछि घर पुगेकी बालिकाले परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन्।
घटनापछि पीडित परिवारले प्रहरीमा उजुरी दिएसँगै फरार रहेका मियालाई प्रहरीले खोजी गरी छपकैया क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
हाल पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाप्रति स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।




