बारा २० । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित आन्तरिक राजस्व कार्यालय नजिक टायल डेलिभरी गर्न गएका दुई जनामाथि तरवार प्रहार भएको घटनामा एक युवक पक्राउ परेका छन्।
बिहीबार साँझ करिब ७:३० बजे जितपुरसिमरा–४ निवासी २८ वर्षीय राजेन्द्र प्रसाद दाहाल टायल पुर्याउन पुगेका बेला घरधनीको ठेगाना एकिन गर्न सोधपुछ गरिरहेका थिए। सोही क्रममा स्थानीय २५ वर्षीय राज अंसारी एक्कासी रिसको आवेशमा आई आफूले बोकेको धारिलो हतियार (तरवार) प्रयोग गरी दाहालमाथि प्रहार गरेको प्रहरीले जनाएको छ।
तरवार प्रहारबाट दाहालको बाँया कोखामा चोट लागेको छ। झगडा छुट्याउन गएका सहचालक मोहमद ओजिरलाई समेत प्रहार हुँदा उनको दाहिने हातको बुढी औँलामा चोट लागेको जनाइएको छ।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले अंसारीलाई तरवारसहित नियन्त्रणमा लिएको छ। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि सिमरास्थित अस्पताल लगिएकोमा उपचारपछि डिस्चार्ज गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।




