वीरगञ्ज १६ चैत्र । वीरगञ्जमा आयोजना हुन लागेको वीरगञ्ज प्रिमियर लिग (बीपीएल) को तेस्रो संस्करणको ट्रफी भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। ‘टिम आदर्शनगर’ को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको ट्रफी आइतबार एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो।
पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जको माइस्थानस्थित गहवामाई मन्दिर अगाडि ट्रफी अनावरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवातको संकेत दिएका हुन्। कार्यक्रममा बोल्दै सांसद पन्तले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा लुकेका खेल प्रतिभालाई उजागर गर्ने र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रतियोगिताका संयोजक सुमित कादमियाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा उनले बीपीएल–३ ले युवाहरूमा खेलप्रति रुचि बढाउने र वीरगञ्जलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए।
ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी हुने विभिन्न टिमका कप्तानहरूको उपस्थिति रहेको थियो। साथै, सुमित चौरसिया, निरज गुप्ता लगायतका युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो, जसले प्रतियोगिताप्रति स्थानीय उत्साह झल्काएको थियो।
स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको बीपीएल–३ ले वीरगञ्जको खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।




