गृह मन्त्रालयद्वारा धार्मिक सहिष्णुता कायम राख्न आग्रह

बिरगंज ९ फागुन । गृह मन्त्रालय ले देशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएका धार्मिक तथा सामाजिक सद्भाव खल्बलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement

संवत् २०८२ फागुन १ गते माननीय गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले वर्तमान सुरक्षा अवस्थाबारे समीक्षा गरेको थियो। विशेष गरी रौतहट, दाङ लगायत तराई–मधेश क्षेत्रका केही स्थानमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पुग्ने गतिविधि, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड, राजनीतिक दलका झण्डा जलाउने जस्ता कानुनले निषेध गरेका कार्यहरू भएकोप्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।

मन्त्रालयले विभिन्न धर्म, जाति, वर्ग, क्षेत्र वा समुदायबीच द्वेष फैलाउने, हिंसात्मक गतिविधि गर्न उक्साउने तथा सामाजिक सद्भाव भड्काउने कार्य कानुनबमोजिम दण्डनीय रहेको स्पष्ट पारेको छ।

यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गरिने चेतावनी पनि दिइएको छ । साथै, मन्त्रालयले सबै धर्म र समुदायबीच आपसी सहिष्णुता, सद्भाव र सम्मान कायम राख्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी प्रेस विज्ञप्तिमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box