पर्साको भेडियाहीमा खुलेआम कौडा जुवा, प्रहरी प्रशासन मुखदर्शक

पर्सा, ३ फागुन । वीरगंज महानगर नजिकै भेडियाही क्षेत्रमा खुलेआम कौडाको जुवा सञ्चालन भइरहेको विषयले सुरक्षा संयन्त्रकै विश्वसनीयता माथि गम्भीर प्रश्न खडा गरेको छ ।

Advertisement

बिरगंज मेडिकल कलेज आसपासको एकान्त फार्ममा विगत पाँच महिनादेखि कौडा तथा जुवा तास सञ्चालन हुँदै आएको स्थानीय स्रोतको दाबी छ । तर विडम्बना, यसबारे जानकार हुँदाहुँदै पनि स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय पर्सासम्म मौन बसेको आरोप लागिरहेको छ ।

स्रोतका अनुसार खेल सुरु हुनुअघि नै स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साको नाममा लाखौं रुपैयाँ “नजराना” बुझाइएको थियो । त्यसपछि निर्बाध रूपमा जुवा सञ्चालन गर्न हरियो झण्डा दिइएको आरोप छ । हरेक महिनाको नियमित उठ्ती प्रहरी र केही पत्रकारको नाममा समेत जाने गरेको दाबी स्रोतले गरेको छ । यदि यो सत्य हो भने, कानुन कार्यान्वयन गर्ने निकाय स्वयं गैरकानुनी गतिविधिको संरक्षक बनेको गम्भीर संकेत हो ।

भेडियाही गाउँको एकान्त फार्ममा दिनरात पैसाको खोलो बगिरहेको बताइन्छ । स्थानीय युवाहरू जुवाको लतमा फस्दै गइरहेका छन् भने परिवारहरू आर्थिक र सामाजिक संकटतर्फ धकेलिँदै छन् । तर जिम्मेवार निकायहरू भने देखेर पनि नदेखेजस्तो गरिरहेका छन् । कौडा खेलका कथित सञ्चालक शंकर र रबिन्द्र नामका व्यक्तिले प्रहरीका साथै पत्रकार व्यवस्थापनको जिम्मा लिएको आरोप स्रोतले लगाएको छ ।

यदि प्रशासन साँच्चिकै निर्दोष छ भने तत्काल छानबिन गरी सत्य सार्वजनिक गर्नुपर्छ । अन्यथा, कानुनलाई पैसामा बेच्ने प्रवृत्तिले राज्य संयन्त्र नै बदनाम हुनेछ । अपराधसँग सम्झौता गर्ने प्रवृत्तिले समाजलाई अराजकतातर्फ धकेल्छ — अब पनि मौनता होइन, कारबाही आवश्यक छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box