रौतहट, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर एवं भावी प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) भोलि माघ २८ गते बुधबार बिहान ११:०० बजे सर्लाहीको कर्मैया हुँदै रौतहट प्रवेश गर्ने कार्यक्रम रहेको छ।
पार्टीको चुनावी प्रचार तथा जनसम्पर्क अभियान अन्तर्गत शाह रौतहट प्रवेश गर्न लागेका हुन्। उनको आगमनलाई लक्षित गर्दै चन्द्रपुर नगरपालिका भित्रका विभिन्न स्थानमा भव्य स्वागत कार्यक्रम आयोजना गरिएको रास्वपा चन्द्रपुर नगर समितिका संयोजक सुरेन्द्र सापकोटाले जानकारी दिए।
चन्द्रपुर नगरपालिकाका पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूलाई बागमती चोक, चन्द्रपुर चोक हुँदै बालचनपुरसम्म पर्ने गौर रोडका विभिन्न चोक-चोकमा उपस्थित भई स्वागतमा सहभागी हुन सापकोटाले सम्पूर्ण रौतहटबासीसँग आग्रह गरेका छन्। युवा पुस्तामाझ लोकप्रिय नेताका रूपमा चिनिएका साहको आगमनले रौतहटमा रास्वपाको चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।
स्थानीय समस्याबारे प्रत्यक्ष संवाद गर्ने, नागरिकको आवाज सुन्ने तथा मधेश र रौतहटको विकास, सुशासन र रोजगारीका विषयमा आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।
पार्टी स्रोतका अनुसार, साहले चन्द्रपुर आसपासका स्थानीयसँग भेटघाट गर्नुका साथै संक्षिप्त सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। यस अवसरमा ठूलो संख्यामा नागरिकको सहभागिता रहने अनुमान गरिएको रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र पटेल उर्फ धिरजले बताएका छन्।
भोलि हुने शाहको रौतहट यात्रा कार्यक्रमलाई सफल र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालसँग आज आवश्यक समन्वय तथा छलफल सम्पन्न प्रतिनिधिसभा उम्मेदवार क्षेत्र नं १ का राजेश चौधरी, क्षेत्र नं २ का शेख सगिर र क्षेत्र नं ३ का रवीन्द्र पटेलसँग भएको छ। छलफलका क्रममा यात्रा हुने मार्ग तथा कार्यक्रम स्थलहरू अन्तिम रूपले तय गरिएको छ।
निर्धारित यात्रा मार्ग अनुसार शाह चपुर, गरुडा, गौर, टिकुलियाँ घाट, औरैया, लवतना, डुमरिया, कुडिया, राजपुर हाई स्कुल हुँदै दमार लौकाहा, बसन्तपट्टि हुँदै बन्कुल हनुमान मन्दिर चौकसम्म पुग्ने कार्यक्रम रहेको छ।
सुरक्षा, यातायात व्यवस्थापन र जनसहभागितालाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालन गरिने बताइएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गौर, रौतहटका प्रमुख समक्ष ज्ञापनपत्र समेत बुझाइएको रास्वपा रौतहट क्षेत्र नं. १ का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार राजेश चौधरीले जानकारी दिएका छन्।
स्थानीय तहमा भ्रष्टाचारविरुद्ध कडा उभिने, पारदर्शी शासन प्रणाली स्थापना गर्ने र युवा सहभागितालाई प्राथमिकतामा राख्ने नेताका रूपमा चिनिएका साहको आगमनले रौतहटको राजनीतिक माहोल थप तातिने देखिएको छ।




