वीरगंज भाद्र १० ।आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेश प्रमुख रविशंकर सर्राफलाई भव्य सम्मानसहित बिदाइ गरेको छ। सर्राफ लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न सरुवा भएपछि आइतबार एक विशेष कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सर्राफले मधेश प्रदेशमा रहँदा कम्पनीको व्यवसायिक हितमा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको थियो। करिब ६ वर्षे कार्यकालमा उनले प्रदेशलाई प्रतिस्पर्धात्मक चरणमा पुर्याउँदै बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै विशेष सम्मान गरिएको हो।
आई.एम.ई लाइफ इन्स्योरेन्सका अधिकारीहरूले सर्राफको नेतृत्वमा कम्पनीले मधेशमा व्यवसायिक दायरा विस्तार मात्र नभई ग्राहक सेवामा विश्वास जित्न सफल भएको बताएका थिए। कम्पनीले उनलाई लुम्बिनी प्रदेशमा व्यवसाय प्रवर्द्धन र विस्तार गर्ने जिम्मेवारी दिइएको जनाउँदै त्यहाँ पनि उत्तिकै सफल हुने विश्वास व्यक्त गरिएको थियो।
बिरगंज शाखा प्रमुख शिव दास, जितपुर शाखा प्रमुख अनोज कानु, कलैया शाखा प्रमुख नितेश गुप्ता, मधेश प्रदेश प्रमुख एजेन्सी म्यानेजर भगवती घिमिरेसहितका एजेन्सी म्यानेजर र अभिकर्ताहरूले सर्राफको योगदानको प्रशंसा गर्दै उपहार तथा मायाको चिनो प्रदान गरी भव्य बिदाइ गरेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले बीमा व्यवसायलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास आवश्यक रहेको धारणा समेत व्यक्त गरेका थिए।


 
    


