बिरगंज ५ भाद्रा । पर्सा — पर्सा जिल्लामा ट्राफिक प्रहरीले भारत–नेपाल सीमावर्ती क्षेत्र हुँदै भित्रिने मालवाहक सवारीसाधनहरूबाट अनधिकृत असुली गर्ने गरेको तथ्य सार्वजनिक भएको छ।
सार्वजनिक भएको भिडियोमा ड्राइपोर्ट ट्राफिक पोस्ट, परवानीपुर ट्राफिक पोस्ट, पावरहाउस ट्राफिक पोस्ट र गण्डक ट्राफिक पोस्टमार्फत ‘ओभरलोड’को नाममा सवारी चालकसँग मासिक दररेटमा रकम असुल्ने गरिएको प्रष्ट देखिन्छ।
भिडियो अनुसार परवानीपुर ट्राफिक पोस्टका इन्चार्ज गोबिन थापाले राति समयमा आफ्ना ट्राफिक जवानहरूलाई खटाई आइसिपी र ड्राइपोटबाट निस्केको मालबाहक ट्रक सवारीसाधनबाट रकम असुली गर्दै आएको देखिन्छ।
विशेषगरी परवानीपुर ट्राफिक पोस्टमा खिचिएको भिडियोमा इन्चार्ज गोबिन थापाले आफ्ना जवानलाई राति भरी नै खटाएर ट्रक र मालवाहक सवारीबाट पैसा उठाउने गतिविधि गरिरहेको स्पष्ट देखिन्छ।
स्थानीय स्रोतका अनुसार, लामो समयदेखि सीमावर्ती नाकाबाट भित्रिने मालवाहक सवारीलाई लक्षित गरी यस्तो असुली हुँदै आएको छ । यसले चालक र व्यापारीहरूलाई आर्थिक बोझ थपेको छ भने प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न खडा भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यसबारे आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म दिएको छैन। तर भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनको आचरणप्रति स्थानीयवासी र सरोकारवालाबीच व्यापक आलोचना भएको छ।
सबैभन्दा गम्भीर विषय के हो भने, यस्तो संगठित भ्रष्टाचारबारे जानकारी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी राज कुमार सिलवालसम्म पुगेको भए पनि उनले अहिलेसम्म कुनै कारबाही नगरेको आरोप लागिरहेको छ।
स्थानीय व्यवसायी, सवारी चालक र नागरिक समाजका अगुवाहरूले यस्तो गम्भीर भ्रष्टाचारप्रति तत्काल छानबिन गरिनु पर्ने माग गरेका छन्। ट्राफिक व्यवस्था सुधार गर्नुको सट्टा राजस्व असुलीको माध्यम बनेको ट्राफिक प्रणालीप्रति व्यापक असन्तुष्टि व्यक्त गरिएको छ।
पथलैयाका एसपी राजकुमार सिलवालको नेतृत्वमा ट्राफिक प्रणाली सुधारतर्फ होइन, भ्रष्टाचार संस्थागत बनाउने दिशातर्फ अघि बढेको आरोपसँगै उनको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।




