वीरगंजमा लम्पी रोग नियन्त्रणका लागि तीव्र पहल

मधेश प्रदेशमा लम्पी स्किन रोग (Lumpy Skin Disease, LSD) को संक्रमण तीव्र रूपमा बढ्दै गएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पछिल्ला तथ्यांक अनुसार प्रदेशभर हालसम्म ५२,६८६ पशु संक्रमित, २३,७०९ निको र १७९ मृत्यु भइसकेका छन्। पर्सा जिल्लामा मात्र १७९ सङ्क्रमण र १ मृत्यु दर्ता भएको छ। वीरगंज महानगरका वडा नं. १, ८, १०, १४, १८, २१, २२, २३, २४ र ३१ मा रोगका केस पुष्टि भएका छन्।

Advertisement

नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा पशु सेवा शाखा प्रमुख डा. सुदिप कुमार शर्मा, पशु सेवा शाखाका सन्तोष ठाकुर, कृषि शाखा प्रमुख रोशनी यादव, प्रभुराम यादव, र वातावरण निरीक्षक प्रकाश बहादुर एरको संयुक्त टोलीले बुधबार करिब आधा दर्जन पशुपालन फार्मको भ्रमण गरी रोगको अवस्था निरीक्षण गरेको छ। टोलीले किसानसँग प्रत्यक्ष भेटघाट गर्दै रोगको बारेमा जानकारी, नियन्त्रण उपाय र गोठ व्यवस्थापन सम्बन्धि समेत जानकारी दिएका थिए ।

पशु सेवा शाखाले प्रत्येक संक्रमित वडामा तत्काल उपचार टोली परिचालन, औषधि तथा उपचार सेवा उपलब्ध गराउने, जोखिम क्षेत्रमा अग्रिम खोप (vaccination) अभियान सञ्चालन गर्ने, किसान सचेतना कार्यक्रम सञ्चालन गर्ने, संक्रमित जनावरलाई अलग राख्ने, र निरन्तर निगरानी तथा तथ्यांक संकलन गर्ने कार्य अगाडि बढाइरहेको छ।

पशु सेवा शाखा प्रमुख डा. सुदिप कुमार शर्माले भने, “हामीले रोग फैलिन नदिने रणनीति अपनाएका छौँ। समयमै उपचार, खोप, र किसानसँग प्रत्यक्ष सम्पर्क हाम्रो मुख्य प्राथमिकता हो।” उनले किसानलाई संक्रमित जनावरलाई अन्य पशुबाट अलग राख्न, रोगको लक्षण देखिनासाथ नजिकको पशु चिकित्सक वा पशु प्राविधिकलाई जानकारी दिन, खोर र वरिपरिको सरसफाइमा ध्यान दिन, तथा बाहिरबाट ल्याइएका जनावरलाई कम्तीमा १४ दिन अलग राखेर मात्र मुख्य बथानमा मिसाउन सुझाव दिएका छन्।

वीरगंज महानगरले किसानलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै रोग नियन्त्रणमा सबैलाई सचेत र जिम्मेवार बन्न आह्वान गरेको छ। बुधबार जारी सूचनामा महानगरले पशु ओसार–पसार अनावश्यक रूपमा नगर्न र रोग सम्बन्धी सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले किसानलाई सतर्क रहन र जनावरको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box