वीरगञ्ज १९ साउनपर्सा जिल्लाको ट्राफिक प्रहरी कार्यालय परिसरमा वातावरण संरक्षण र सौन्दर्यकरणको उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज भट्टको अगुवाइमा कार्यालयको हाताभित्र विभिन्न प्रजातिका फलफूलका विरुवाहरू रोपिएका छन्।
कार्यक्रममा आँप र लिच्चीका करिब ५५ वटा बिरुवा रोपिएको जानकारी दिइएको छ। यी बिरुवाहरूको व्यवस्थापनमा ग्रीनसिटी सामुदायिक प्रहरी, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको विशेष सहयोग रहेको बताइएको छ।
इन्स्पेक्टर भट्टका अनुसार, “वृक्षारोपणले कार्यालय परिसरलाई हराभरा र आकर्षक बनाउनुका साथै यहाँ सेवा लिन आउने सर्वसाधारणलाई पनि सहज वातावरण प्रदान गर्नेछ। साथै, यसले पर्यावरणीय सन्तुलनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।”
वृक्षारोपण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल, अन्य प्रहरी कर्मचारीहरू – सिपाही र हवल्दारहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले प्रहरी प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई समेत मजबुत बनाएको छ। वृक्षारोपणलाई निरन्तरता दिई फलदायी बनाउन कार्यालयले आवश्यक संरक्षण र पालनपोषणको व्यवस्था गर्ने बताइएको छ।
यो पहल जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको वातावरणमैत्री सोचको प्रतिबिम्ब हो, जसले प्रहरी प्रशासनलाई नागरिकमैत्री र वातावरणमैत्री संस्थाका रूपमा स्थापित गर्न थप मद्दत गर्नेछ।




