पर्सा । पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका क्षेत्रमा अवरुद्ध रहेको नहरको सुधार र पानी प्रवाह पुनःस्थापना गर्ने उद्देश्यले आजदेखि बीएससी ३ बाट पकहा मैनपुरसम्मको नहर सफाइ कार्य सुरु गरिएको छ।
पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसियाको पहलमा र स्थानीय जनसमुदायको सक्रिय सहभागितामा सुरु गरिएको यस अभियानप्रति स्थानियवासीहरू उत्साहित देखिएका छन्। लामो समयदेखि फोहोर, झारजङ्गल र अव्यवस्थित बहावका कारण बन्द जस्तै अवस्थामा रहेको नहरको सफाइसँगै अब सिंचाइ सुविधा पुनः सुचारु हुनेमा सबैले आशा व्यक्त गरेका छन्।
पूर्व अध्यक्ष चौरसियाले भने, “नहर सफा भएपछि कृषकहरूलाई सिंचाइको सुविधा सहज हुने विश्वास लिएको छु। स्थानीय जनताको साथ र सहकार्यले गर्दा यो अभियान सम्भव भएको हो। अबको केही दिनमा पानी नहरमा बग्न थाल्छ भन्ने अपेक्षा छ।”
स्थानीय कृषकहरू पनि वर्षायामको समयमा खेत सिचाइको समस्या समाधान हुने आशामा छन्। जनश्रमदानमार्फत सुरु गरिएको यो अभियानले समुदायमा आपसी सहयोग र एकता पनि बलियो बनाएको छ।
नहर सफाइ कार्य आगामी दिनहरूमा थप प्रभावकारी बनाउँदै अन्य अवरुद्ध स्थानहरूमा पनि विस्तार गरिने योजना रहेको जानकारी गराइएको छ।




