वीरगञ्जलाइ हरियाली बनाउन वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगञ्ज, साउन १५ सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगंज पर्साको संयुक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १६ स्थित वैष्णवी मन्दिर चौकदेखि नयाँ बसपार्कसम्मको सडक किनारमा आयोजित कार्यक्रममा करिब ७० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। साथै ती बिरुवाहरूको संरक्षण सुनिश्चित गर्न लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) पनि जडान गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रम ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह तथा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी पुरनचन्द्र भट्ट, नेपाल इनोभेट सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, शस्त्र प्रहरी भन्सार पर्साका डीएसपी पुरूषोत्तम भण्डारी, चुरे तराई मधेश समिति चितवनका अध्यक्ष डा. किरण पौडेल, महानगर सरसफाई इञ्चार्ज सर्फुदिन अन्सारी, भारतीय महावाणिज्यदूतावास वीरगञ्जका प्रमुख डी.एस. मिना, प्रहरी प्रमुख हरि भुसाल, महेश सिंह धामी, ओम कुमार झा लगायत उच्चपदस्थ अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्थानीय बासिन्दा, आजीवन सदस्य, सञ्चारकर्मी लगायतको सक्रिय सहभागिता देखिएको थियो। सहभागीमध्ये सञ्चारकर्मी अभिलाष गुप्ता, सुश्मिता यादव, उपाध्यक्ष संजय शर्मा, सदस्य राकेश अग्रवाल, चन्द्र अग्रवाल, ललित अग्रवाल, शुशिल कादमियाँ, साथै प्रहरीतर्फ वरिष्ठ हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउद पनि सहभागी थिए।

प्रमुख अतिथि नगर प्रमुख राजेशमान सिंहका भनाई अनुसार हरियाली विस्तार हाम्रो महानगरको दीर्घकालीन प्राथमिकता हो। वातावरण संरक्षण भनेको अब आवश्यकतामात्र होइन, जिम्मेवारी पनि हो। आजको वृक्षारोपण कार्यक्रमले सामुदायिक सहकार्य, प्रहरी सेवा केन्द्र र नागरिक समाजको संयुक्त प्रयासबाट वातावरण संरक्षणमा सकारात्मक सन्देश दिएको छ। हामी यस्ता कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजानेछौँ।

कार्यक्रमले वातावरण संरक्षणप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै वीरगञ्जको सडक किनारमा हरियाली थप गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। आगामी दिनमा थप वृक्षारोपण र संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिइएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box