भन्सार सीमामा फस्टाउँदै तस्करी

बीरगंज १५ असार । झ्यालको पर्दा, डाइनिङ टेबलमाथिको सजावट र महिलाका केही कपडा ल्याउँदै गरेका बीरगंजका एक परिवार भारत–नेपाल सीमा नाकामा सुरक्षा फौजको दुर्व्यवहारको शिकार बने। भन्सार प्रक्रियाबिना ल्याएको बहानामा प्रहरीले गालीगलौज मात्र गरेन, सामान नियन्त्रणमा लिएर बेइज्जतसमेत गर्‍यो।
असार १३ गते घटेको यस घटनाले सीमा क्षेत्रमा डीएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा सशस्त्र प्रहरी बलको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। पीडित परिवारका अनुसार, प्रहरीका एक सिपाहीले “केही खाजा खर्च दिनुस्, झन्झट नगरौं” भनी घूस मागे। पछि डीएसपीको आदेशपछि मात्र डसना खोल फिर्ता दिइयो। तर सुटको कपडा फिर्ता दिइएन, बरु अपमान गर्दै फर्काइयो।
उक्त परिवारको अनुभवले सिंगो भन्सार नाकामा भइरहेको खुला तस्करीको संरचनागत स्वरूप प्रकट गरिदिएको छ जहाँ सुरक्षाकर्मीको व्यवहार सर्वसाधारणमाथि कठोर, तर तस्करहरूसँग सहमतिपूर्ण देखिन्छ।
बीरगंज नाका अहिले खुला रूपमा तस्करीको केन्द्रीय मार्ग बनेको छ। सशस्त्र प्रहरी बल अन्तर्गतको भन्सार बोर्डर आउटपोस्ट (बीओपी) मा कार्यरत डीएसपी सुब्बाको नेतृत्वमा दैनिक सयौं अटो, साइकल र इरिक्शा प्रयोग गरी भारतबाट खाद्यान्न, लत्ताकपडा, ड्राइफ्रुट्स, खसी, कुखुरा, सुन र नुनसम्मका सामग्रीहरू अवैध रूपले नेपाल भित्र्याउने कार्य निर्बाधरूपमा भइरहेको छ।
स्रोतहरूका अनुसार, तस्करीमा संलग्न व्यक्तिहरूले “महिनावारी”, “ड्युटी खर्च” र “लाइन मिलाउने” नाममा प्रहरीलाई नियमित रकम बुझाउँछन्। बदलीमा उनीहरूलाई गोप्य मार्गबाट सामान पार गराउने सुविधा दिइन्छ। यस्ता अभ्यास सशस्त्र प्रहरी बलकै मौन स्वीकृति वा प्रत्यक्ष संलग्नता विना सम्भव नहुने बुझिन्छ।
यस नाकाबाट चामल, दाल, तेल, खसी, बोका, कुखुरा, लत्ताकपडा, ड्राइफ्रुट्स लगायत सामग्रीहरू नियमित रूपमा भित्र्याइन्छन्।
यिनै सुरक्षाकर्मीहरूले नियमित कर तिर्न चाहने सर्वसाधारण, गरिब र सामान्य यात्रुहरूलाई कडाइ, अवैध जाँच, गाली र अपमानका माध्यमबाट हतोत्साहित गर्दै आएका छन्।
सार्वजनिक रूपमा आउने गुनासोहरूले डीएसपी सुब्बा आफैंलाई इमानदार सावित गर्न खोजिरहेका छन्, तर व्यवहारमा उनी तस्करी नियन्त्रणमा पूर्णरूपमा असफल देखिएको छ।
बरु तस्करहरूसँगको मिलेमतो,घरायसी प्रयोजनको नाममा सामान दर्ता गराई आफ्नो छवि निर्माण गर्ने, तर अरू जनतामाथि दोहोरो मापदण्ड प्रयोग गर्ने व्यवहार देखिएको छ।
भन्सार क्षेत्रमा यसरी खुलेआम तस्करी हुनु, सुरक्षा निकायको संलग्नता झल्कनु र सर्वसाधारणमाथि हुने अपमानजनक व्यवहारले देशको सीमा सुरक्षामाथि नै गम्भीर प्रश्न उठाएको छ।
अब अवस्था यति गम्भीर बन्दै गएको छ कि डीएसपी लोकेन्द्र सुब्बा साँच्चिकै इमानदार हुन् कि इमानदारीको आवरण ओढेका तस्करी संरक्षक? राज्यले यदि तत्काल ध्यान दिएन भने, भन्सार क्षेत्र अपराधीहरूको छुट्टै राज्यमा परिणत नहोला भन्न सकिन्न।

Advertisement
Advertisement
Advertisement
Advertisement
Facebook Comments Box