काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन लिएको कसिलो नीतिका कारण निजी विद्यालय बसाइँ सर्न थालेका छन्। विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुरूप निजी विद्यालय सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले कडिकडाउ गरेपछि निजी विद्यालय धमाधम छिमेकी पालिकातिर बसाइँ सर्न थालेका हुन्।
चालु शैक्षिक सत्रमा चारवटा निजी विद्यालय छिमेकी नगरपालिकातिर सरिसकेका छन्। तीनवटाले बसाइँसराइका लागि निवेदन दिएका छन्। अन्य केही निजी विद्यालयले पनि बसाइँ सर्ने मनस्थितिमा रहेको महानगर शिक्षा विभागले जनाएको छ। महानगर शिक्षा विभागअन्तर्गत निजी विद्यालय हेर्ने शाखा प्रमुख मोतीराज खनालका अनुसार काठमाडौं महानगरपालिका–१४ स्थित लिटिल वल्र्ड स्कुल बसाइँ सरेर कीर्तिपुर नगरपालिका पुगेको छ। काठमाडौं महानगरपालिका–१५ स्थित रेन्बो इन्टरनेसनल बोर्डिङ स्कुल नागार्जुन नगरपालिका–३ मा सरेको छ। ग्रिनविच एकेडमी सेकेन्डरी स्कुल लामो समयदेखि काठमाडौंको पेप्सीकोलामा सञ्चालित थियो। सो स्कुल कागेश्वरी मनोहरा नगरपालिका–७ मा सरेको छ। यसैगरी बसाइँ सरेको अर्को स्कुल हो सरस्वती कुञ्ज सेकेन्डरी स्कुल। काठमाडौं महानगरपालिका–३० बाट सरेकोे यो स्कुलले अब आफ्ना सबै शैक्षिक कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका–७ बाट सञ्चालन गर्नेछ।
निकट भविष्यमै अरू तीन विद्यालय महानगरबाट नजिकैका नगरमा सर्दै छन्। ती विद्यालयले छिट्टै नजिकैको नगरपालिकामा बसाइँ सर्न निवेदन दिइसकेको निजी विद्यालय शाखा प्रमुख खनालको भनाइ छ। निवेदन दिने तीन विद्यालयमध्ये निलभाना एकेडमी काठमाडौं महानगरपालिका–१५ बाट नागार्जुन नगरपालिका–५ मा सर्न लागेको हो। खनालका अनुसार छाउनीस्थित काठमाडौं भ्याली स्कुल पनि नागार्जुन नगरपालिका–९ को स्युचाटारमा सर्ने तयारी गरिरहेको छ। यसैगरी श्री बौद्ध सेकेन्डरी इंग्लिस स्कुलले गोकर्णेश्वर नगरपालिका बसाइँ सर्ने अनुमति माग्दै निवेदन दिएको छ।
किन सरे निजी विद्यालय ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ कडाइका साथ कार्यान्वयन गर्ने सन्दर्भमा पाँच महिनाभित्र विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन संस्थागत विद्यालयलाई निर्देशन दिएपछि निजी विद्यालय धमाधम सहज शिक्षानीति भएको नगरपालिकामा सर्न थालेका हुन्। महानगर मेयर साहले सामाजिक सञ्जालमार्फत सबै संस्थागत विद्यालयलाई नामअनुसार काम गर्न र विद्यालयको चिह्नमा एकरूपता कायम गर्न निर्देशन दिएका थिए। ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० को उपनियम १ तथा २ ले विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन खोजेको स्पष्ट पार्दै मेयर साहले सामाजिक सञ्जालमार्फत नियमावली पालना गर्न अवगत गराएका थिए।
पर्न थालेको महानगरको भनाइ छ। कोरोना कहरको अघिल्लो वर्षसम्म महानगरभित्र ६ सय ४० वटा निजी विद्यालय सञ्चालित रहे पनि हाल ५ सय १२ मा सीमित हुन पुगेको निजी शिक्षा हेर्ने शाखाप्रमुख खनाल बताउँछन्। ‘कतिपय निजी विद्यालय कोरोनापछि सुके, कति मर्ज भए,’ खनालले भने, ‘हाल नीतिनियममा कडिकडाउ गर्दा कतिपय विद्यालय ठाउँ अभाव भन्दै नजिकका पालिकामा सर्न थालेका हुन्।’
निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले भने काठमाडौंमा निजी विद्यालय सञ्चालन गर्न कठिन हुन थालेपछि नजिकको नगरपालिकामा सर्न थालेको बताए। उनका अनुसार काठमाडौं महानगरले नियम पालना गराउन खोजे पनि प्रक्रिया सहज बनाउन नसक्दा नाम फेर्नुभन्दा ठाउँसारी गर्र्नु नै सहज हुने देखेर कैयौं स्कुल अन्यत्र जान थालेका हुन्। ‘स्कुलको नाम सच्याउन एक त ५० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ, त्यसमाथि प्रक्रिया निकै झन्झटिलो छ,’ उपाध्यक्ष गुरुङले भने। कोरोना सुरु भएसँगैको लकडाउनले निजी विद्यालयमाथि ठुलो असर पारेको अवस्थामा काठमाडौंको घरभाडा निकै महँगो भएका कारण पनि विद्यालय सर्न बाध्य भएको दाबी उनले गरे।(साभार नागरिक दैनिक)