बिरगंज ३० बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ ले गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गराईदिने भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ को कार्यालयले निजी अस्पतालसँग नि:शुल्क अल्ट्रासाउण्ड उपलब्ध गराउने सम्झौता गरेको छ ।
शुक्रबार बिहानै वडाअध्यक्ष रितेशकुमार गुप्ता (मुन्ना) ले वडाका गर्भवती व्यक्तिलाई उपलब्ध हुनेगरी प्रभु हस्पिटलका प्रमुख डा. मनोजकुमार गुप्तासँग यसका लागि सम्झौता गरेका छन् । सम्झौताअनुरुप वडाका गर्भवती व्यक्तिले प्रभु हस्पिटलमा नि:शुल्क अल्ट्रासाउण्ड सेवा प्राप्त गर्ने छन् जसका लागि वडा कार्यालयले प्रति विरामी हस्पिटललाई ५९० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
सम्झौताबाट वडाका गर्भवती व्यक्तिलाई फाइदा हुने भनिएपनि यसको वास्तविक फाइदा भने अस्त्पालले पाउने देखिएको छ । यसरी नि:शुल्क अल्ट्रासाउण्ड गराउन आउने गर्भवती व्यक्तिलाई भर्ना गरेर अस्पतालले दोहोरो फाइदा कमाउन सक्छ । अस्पतालले सम्झौताबाट कसरी दोहोरो फाइदा कमाउँला भन्ने तपाईँ सोच्दै हुनुहुन्छ होला ? हामी यस बारेमा तपाईँलाई प्रष्ट पार्छौं ।
कुनैपनि गर्भवती व्यक्तिले अल्ट्रासाउण्ड गराएपछि त्यसको विस्तृत रिपोर्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई देखाउनु पर्ने हुन्छ । रिपोर्टअनुसार चिकित्सकले विरामीको उपचार गर्छन, आवश्यक औषधी सेवन गर्न सुझाव दिन्छन् । प्रायजसो अल्ट्रासाउण्ड जहाँ गराइन्छ रिपोर्ट पनि त्यहीँ अस्पतालका चिकित्सकलाई देखाउने चलन छ । अब प्रभु अस्पतालमा अल्ट्रासाउण्ड गराउने व्यक्तिले आफ्नो रिपोर्ट कुनै अन्य ठाउँको चिकित्सकलाई देखाउने सम्भावना एकदमै न्यून हुन्छ । यसरी नि:शुल्क अल्ट्रासाउण्ड गराउन आउने व्यक्तिलाई आफ्नो अस्पतालमा भर्ना गर्ने प्रभु हस्पिटलले मौका पाउँछ । त्यसमाथि अस्पतालकी सह-सञ्चालक डा.लक्ष्मी थापा गुप्ता वीरगञ्जमा नाम चलेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले पक्कैपनि गर्भवती व्यक्तिलाई अन्य अस्पतालमा जाउँ, त्यहाँको चिकित्सकलाई रिपोर्ट देखाउँ भन्दिनन् ।
विरामीसँग लाखौँ रुपैयाँ असुलेर उपचार गर्ने आरोप लाग्दै आएको प्रभु हस्पिटलले सम्झौताअनुरुप नि:शुल्क अल्ट्रासाउण्ड लिन गएका गर्भवती व्यक्ति र उनीहरुको परिवारबाट रकम असुल्ने मौका पाउँछ । अस्पतालमा आमा सुरक्षा कार्यक्रमसमेत लागू छैन । त्यसैले यहाँ बच्च जनमाउने व्यक्तिले नेपाल सरकारले उपलब्ध गराएको कुनैपनि सुविधा पनि प्राप्त गर्न सक्दैनन् ।
नारायणी अस्पतालमा अल्ट्रासाउण्डको सुविधा हुँदाहुँदै निजि अस्पतालसँग सम्झौता किन गरेको भनेर हामीले वडाअध्यक्ष रितेशकुमार गुप्तासँग प्रश्न गर्यौं । गुप्ताले नारायणी अस्पतालमा अल्ट्रासाउण्ड गराउन चारदेखि पाँच दिनसम्म कुर्नुपर्ने र प्रभु हस्पिटल वडामै रहेकोले आउजाउमा पनि सहज हुने भएकोले सम्झौता गरिएको प्रतिक्रिया दिए । ‘गर्भवती व्यक्तिको गर्नुपर्ने अन्य स्वास्थ्य जाँचको सुविधा हामीसँग वडाको स्वास्थ्य केन्द्रमा छ । अल्ट्रासाउण्डको सुविधा भने छैन । यस समस्यालाई समाधान गर्न हामीले प्रभु हस्पिटलसँग सम्झौता गरेका हौँ । त्यहाँ अल्ट्रासाउण्ड गराउने व्यक्तिले त्यहीँको चिकित्सकलाई आफ्नो रिपोर्ट देखाउनु पर्छ भन्ने छैन,’ गुप्ताले भने ।
प्रभु हस्पिटलले नारायणी अस्पतालभन्दा १० रुपैयाँ सस्तो दरमा अल्ट्रासाउण्ड सुविधा उपलब्ध गराएको उनले जिकिर गरे । ‘नारायणी अस्पतालमा अल्ट्रासाउण्ड गराउने शुल्क ६०० रुपैयाँ हो,’ उनले भने, ‘हामीलाई यहाँ पनि फाइदा हुँदैछ ।’ उनले वडा कार्यालयबाट यसका लागि २ लाख रुपैयाँ विनियोजन पनि गरिएको जानकारी दिए ।
वडाअध्यक्ष गुप्ताको प्रतिक्रिया हामीलाई सन्तोषजनक लागेन । उनले दावी गरे जस्तै नारायणी अस्पतालमा अल्ट्रासाउण्ड गराउन चारदेखि पाँच दिनसम्म कुर्नुपर्छ की पर्दैन भनेर हामीले त्यहाँका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहसँग प्रश्न गर्यौं । डा. साहले केहि साता अगाडिसम्म दुईतिन दिन कुर्नुपर्ने समस्या रहेपनि अहिले त्यस्तो नरहेको जवाफ दिए । ‘जनशक्ति आभावले गर्दा केहि दिन अगाडिसम्म यस्तो समस्या थियो । अहिले हामीसँग तिनजना रेडियोलोजिस्ट हुनुहुन्छ, चारवटा मेसिन छ, दैनिक कम्प्तिमा पनि ९० जनाले सेवा प्राप्त गरिरहेका छन्,’ उनले भने, ‘अब विरामीले आजको आजै सेवा प्राप्त गर्न सक्छन् । धेरै चाँप भए एकदिन कुर्नुपर्ला तर चारदेखि पाँच दिनसम्म कुर्ने समस्या छैन ।’
विरामीको चाँपलाई मध्यनजर गर्दै अस्पतालले रेडियोलोजी डिपार्टमेन्टमा जनशक्ति थप्ने प्रक्रिया पनि अगाडि बढाएको डा. साहले जानकारी दिए ।
नारायणी अस्पतालमा एक दिन कुर्नुपर्ने भएपनि यहाँ गर्भवती व्यक्तिले आमा सुरक्षा कार्यक्रमको सुविधा प्राप्त गर्छन । यस कार्यक्रममार्फत सुत्केरी हुने व्यक्तिको सबै उपचार खर्च नेपाल सरकारले व्यहोर्छ । प्रभु हस्पिटलमा भने यो कार्यक्रम लागू भएको छैन ।