वीरगंज ४ बैशाख । वीरगंजस्थित नारायणी अस्पतालको अप्रेशन कक्षमै पसेर चिकित्सकमाथि गालीगलौज तथा हातपात भएको छ । सोही घटनाप्रति नेपाल चिकित्सक संघ नारायणीले सोमवार एक प्रेस विज्ञप्ती जारी गरी आपत्ती जनाएको छ ।
चिकित्सकमाथि हातपात तथा गालीगलौज गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेको छ । संघका नारायणी शाखा सचिव डा. नौसाद हकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती अनुसार आइतवार राती पौने ९ बजे स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. तरन्नुम अफरोज माथि बिरामीका आफन्तले आपत्तीजनक गाली गलौजका साथै सांघातिक आक्रमण गरेका थिए ।
कुनै पनि चिकित्सकले बिरामीको कुभलो नचिताउने हुँदा बचाउने प्रयास गर्दागर्दै पनि बच्चालाई बचाउन नसकिएको जानकारी बिरामीका आफन्तलाई गराउँदा उनीहरुले दुव्र्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकमाथि छानबिन गर्ने प्रशस्तै कानुनी व्यवस्था हुँदा हुंदै पनि कानुनको उलंघन गर्दै चिकित्सकमाथि आक्रमण गर्नु कानुनी राज्यको उपहास भएको विज्ञप्तीमा भनिएको छ ।
डाक्टर नौशादका अनुसार आइतबार जटील अवस्थामा ल्याइएकी बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालकी गर्भवती महिला अमरावती देवीलाई आकस्मिक सुत्केरीका लागि अप्रेशन थिएटरमा लगेर डाक्टर अफरोजले शल्यकृया मार्फत प्रसूती गराएकी थिइन् ।
तर सिकिस्त अवस्थामा जन्मिएका शीशुलाई बचाउन असफल भएपछि त्यसैको आक्रोशमा बिरामीका आफन्तहरुले अप्रेशन थिएटरमा पसेर डाक्टर अफरोजमाथि हातपात गर्नुका साथै गाली गलौज गरेका थिए ।
उक्त घटनामा संलग्नमध्येका केहि व्याक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकाहरु विरुद्ध प्रहरीले हदैसम्मको कानूनी कारबाही नगरे आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी चिकित्सक संघ नारायणी शाखाले दिएको छ ।