विराटनगर । संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीलाई ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ प्रदान गरिएको छ। ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
कोशी प्रदेशमा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीका रूपमा छनोट समितिको निष्कर्षका आधारमा डीएसपी मैनालीलाई सम्मान गरिएको जनाइएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
संखुवासभा जिल्ला प्रहरी कार्यालयले गत आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा कोशी प्रदेशका जिल्लाहरूमध्ये उत्कृष्ट स्थान हासिल गरेको थियो। जिल्लामा प्रहरी सेवाको प्रभावकारिता, कार्यसम्पादन तथा जिम्मेवारी निर्वाहमा देखिएको उपलब्धिले प्रहरी संगठनभित्र संखुवासभा प्रहरीको कार्यसम्पादनलाई उल्लेखनीय बनाएको छ।
प्रहरी दिवसको अवसरमा प्रदान गरिएको यस पुरस्कारले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्नुका साथै प्रहरी संगठनमा व्यावसायिकता, जवाफदेहिता र सेवाभाव अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डीएसपी मैनालीलाई प्रदान गरिएको सम्मानलाई संखुवासभा प्रहरीको कार्यसम्पादनको कदरका रूपमा समेत हेरिएको छ। जिल्लाको शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकलाई प्रभावकारी प्रहरी सेवा उपलब्ध गराउने जिम्मेवारीमा प्रहरी संगठनको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ




