एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो, चार मन्त्रीले दिए सामूहिक राजीनामा

जनकपुरधाम । नेकपा (एमाले) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

Advertisement

प्रदेश सरकार सञ्चालन तथा जनहितका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको र विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समर्थन फिर्तासँगै एमालेका तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले पनि सामूहिक रूपमा राजीनामा दिएका छन्।

नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले २०८३ असोज ३० गते प्रदेश प्रमुखलाई सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे औपचारिक जानकारी गराएका छन्।

एमालेका अनुसार नेपाली कांग्रेस, एमालेसहितका दलहरूबीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तथा जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले १५ बुँदे समझदारी भएको थियो। उक्त समझदारीमा सरकार सञ्चालनमा दलहरूबीच समन्वय र सहकार्य गर्ने, जनताले सुशासनको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने तथा आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणमा विकासका योजनालाई प्राथमिकता दिने विषय समेटिएका थिए।

यस्तै, मन्त्रालय तथा मन्त्रीहरूको संख्या व्यवस्थापन गर्ने, विकास निर्माणका योजनाहरू खुला र प्रतिस्पर्धात्मक विधिबाट सञ्चालन गर्ने तथा आर्थिक वर्षको सुरुवातसँगै विकास निर्माणका कामलाई तीव्रता दिने लगायतका विषयमा पनि सहमति भएको एमालेको पत्रमा उल्लेख छ।

तर, पटक–पटक ध्यानाकर्षण गराउँदासमेत १५ बुँदे समझदारी अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको एमालेको आरोप छ। समझदारीअनुसार प्रदेश सरकार सञ्चालन हुन नसकेको र जनहितका कामले अपेक्षित गति लिन नसकेको भन्दै एमालेले सरकारलाई दिएको समर्थन निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको जनाएको छ।

एमालेले समझदारी कार्यान्वयन नभएको विषयलाई गम्भीरतापूर्वक लिँदै मधेश प्रदेश सरकारलाई यसअघि प्रदान गर्दै आएको समर्थन असोज ३० गतेदेखि फिर्ता लिने निर्णय गरेको पत्रमार्फत जानकारी गराएको छ।

राजीनामा दिने मन्त्रीहरूमा मो. समिर — भौतिक पूर्वाधार विकास मन्त्री
, लखन दास तत्मा — खेलकुद तथा समाज कल्याण मन्त्री , शारदा देवी थापा — श्रम तथा यातायात मन्त्री ,मनोज कुमार सिंह — शिक्षा तथा संस्कृति मन्त्री उनीहरूले एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीका रूपमा सामूहिक राजीनामा दिएको पत्रमा उल्लेख छ।

प्रदेश सरकारको राजनीतिक समीकरणमा प्रभाव
एमालेले समर्थन फिर्ता लिँदै आफ्ना चार मन्त्रीलाई सरकारबाट बाहिर निकालेपछि मधेश प्रदेशको राजनीतिक समीकरणमा प्रभाव पर्ने देखिएको छ। प्रदेश सरकारको स्थायित्व, आगामी राजनीतिक सहकार्य तथा सरकारको कार्यसम्पादनलाई लिएर नयाँ बहस सुरु हुने सम्भावना छ।

यद्यपि, समर्थन फिर्तापछि प्रदेश सरकारको आगामी अवस्था र त्यसले प्रदेशसभाको अंकगणितमा पार्ने प्रभावबारे थप राजनीतिक तथा संसदीय प्रक्रिया महत्वपूर्ण हुनेछन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box