पर्सा, २०८३ असोज २७। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र राष्ट्रिय सहकारी महासंघ (NCF) को सहयोगमा लगनशील महिला बहुउद्देश्यीय सहकारी संस्था, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडल Roll Out’ तालिम सुरु भएको छ।
स्याहार सेवालाई व्यवस्थित तथा व्यावसायिक बनाउँदै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने, सीप विकास गर्ने र आवश्यकतामा आधारित सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममार्फत बालबालिकाको स्याहार, परिवार तथा समुदायमा आधारित स्याहार सेवा र स्याहारसम्बन्धी व्यावसायिक अवसरलाई सहकारी मोडलसँग जोडेर अघि बढाउने विषयमा विशेष जोड दिइएको छ। स्याहार सेवालाई सामाजिक जिम्मेवारीका रूपमा मात्र नभई रोजगारी सिर्जना, महिला आर्थिक सशक्तीकरण तथा स्थानीय उद्यम विकासको महत्त्वपूर्ण आधारका रूपमा स्थापित गर्नु यसको प्रमुख लक्ष्य रहेको छ।
त्यसैगरी, नयाँ स्याहारमुखी सहकारी स्थापना गर्न चाहने तथा विद्यमान सहकारीलाई स्याहार सेवा प्रदान गर्ने संस्थाका रूपमा स्तरोन्नति गर्न इच्छुक सदस्यहरूलाई चरणबद्ध मार्गदर्शन प्रदान गरिनेछ। सहभागीहरूलाई सहकारीको व्यावसायिक योजना निर्माण, सेवा सञ्चालन, सदस्यहरूको आवश्यकता पहिचान तथा दिगो व्यवसाय विकाससम्बन्धी विषयमा सहजीकरण गरिनेछ।
रोजगारीसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिँदै, स्याहार क्षेत्रमा आवश्यक जनशक्तिको पहिचान, सीपयुक्त जनशक्ति विकास, स्थानीयस्तरमा रोजगारीका सम्भावना विस्तार तथा स्याहार सेवा प्रदायक र सेवाग्राहीबीच समन्वय स्थापित गर्ने विषयलाई समेत महत्त्वका साथ अघि बढाउने अपेक्षा गरिएको छ। यसले विशेषगरी महिलाका लागि सम्मानजनक रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्याउन सक्नेछ।
तालिमका मुख्य सहजकर्ताका रूपमा सुरज गुप्ता र रञ्जना पण्डित रहनुभएको छ। तालिमको अनुगमन तथा विशेष सहयोगका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का भारती बिरला र कृपा बस्नेत तथा राष्ट्रिय सहकारी महासंघ (NCF) का वरिष्ठ प्रबन्धक तेजप्रसाद गौतमले सहजीकरण तथा सहयोगमा विशेष पहल गर्नुभएको छ।
स्याहार अर्थतन्त्रलाई सहकारी, सीप विकास र रोजगारी सेवासँग एकीकृत गर्दै अघि बढाउन सके स्थानीयस्तरमै रोजगारी सिर्जना, महिला सशक्तीकरण, गुणस्तरीय स्याहार सेवाको पहुँच विस्तार र आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।




