पशुपति क्षेत्रमा सार्वजनिक हित र नैतिकताविरुद्धको कार्य गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–८ स्थित पशुपति मन्दिर अगाडि ‘प्रियंका सानी’ नामक TikTok अकाउन्टबाट सार्वजनिक भएको भिडियोका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ६.१ विपरीतको कार्य भएको भन्दै कोषले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा उजुरी दिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उक्त उजुरीपछि प्रहरीले अनुसन्धानका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–५ बाट दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीको सहयोगमा नियन्त्रणमा लिई काठमाडौं ल्याइएको हो।

प्रहरीले २०८३ साल असोज २० गते साँझ करिब ७ः३० बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमा सुनसरी, इटहरी उपमहानगरपालिका–५ घर भएका ३० वर्षीय ओसिम अन्सारी र सोही स्थानका ३३ वर्षीय प्रियंका परिवार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा २०८३ असोज २० गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप अनुमति लिइएको छ। हाल उनीहरूमाथि प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक हुने सामग्रीका कारण सार्वजनिक स्थानको मर्यादा, धार्मिक तथा सांस्कृतिक स्थलको संवेदनशीलता र प्रचलित कानुनको उल्लंघन हुन सक्ने भएकाले यस्ता विषयमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। अनुसन्धानबाट घटनाको वास्तविकता, भिडियोको उद्देश्य तथा त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box