पीएचडी उपाधि हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरको सम्मान

वीरगंज । वीरगंज महानगरपालिका–२३ निवासी डा. राजु बैठाले भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेपछि वीरगंज महानगरपालिकाले उनलाई विशेष सम्मान गरेको छ।

Advertisement

डा. बैठाले ‘Performance Evaluation of Birgunj Metropolitan Municipality: A Study of Selected Services’ शीर्षकमा अनुसन्धान गर्दै राजनीति शास्त्रमा पीएचडी उपाधि हासिल गरेका हुन्। उनको अनुसन्धान वीरगंज महानगरपालिकाले प्रवाह गर्दै आएका विभिन्न सेवाको कार्यसम्पादन मूल्यांकनमा केन्द्रित रहेको जनाइएको छ।

पीएचडी उपाधि हासिल गरेको अवसरमा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले डा. बैठालाई खादा ओढाएर सम्मान गरेका हुन्। सम्मानका क्रममा नगरप्रमुख सिंहले डा. बैठाको शैक्षिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै उनको अनुसन्धानले वीरगंज महानगरपालिकाको सेवा प्रवाह, कार्यसम्पादन र सुधारका सम्भावनाबारे महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सो अवसरमा डा. बैठाले आफ्नो अनुसन्धानमा आधारित पुस्तकसमेत नगरप्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए। महानगरपालिकाकै सेवा प्रवाह र कार्यसम्पादनलाई विषय बनाएर अनुसन्धान गरी पीएचडी उपाधि हासिल गर्नु वीरगंजका लागि समेत गौरवको विषय भएको बताइएको छ।

नगरप्रमुख सिंहले डा. बैठाको शैक्षिक सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई वीरगंजको शैक्षिक पहिचान र प्रतिष्ठासँग समेत जोडिएको उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि अनुसन्धान र ज्ञान उत्पादनका क्षेत्रमा सक्रिय रहन शुभकामना दिएका छन्।

वीरगंज–२३ का डा. बैठाले उच्च शिक्षा र अनुसन्धानको क्षेत्रमा हासिल गरेको यो उपलब्धिले स्थानीय युवाहरूलाई समेत अध्ययन, अनुसन्धान र उच्च शैक्षिक उपलब्धितर्फ अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box