पशुपतिनाथ प्रवेश घटनामा कोष एक्सनमा, दोषीमाथि कडा कारबाहीका लागि प्रहरीलाई पत्राचार

काठमाडौं । पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट एक जोडी प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले घटनालाई गम्भीर रूपमा लिँदै कडा कदम चालेको छ।

Advertisement

कोषले घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सार्वजनिक गर्ने व्यक्तिमाथि समेत आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरी, साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णय गरेको छ।

कोष कार्यसम्पादन समितिको २०८३ असोज २० गते बसेको आकस्मिक बैठकले घटनासम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कोषका अनुसार २०८३ असोज १९ गते आराध्यदेव भगवान् श्रीपशुपतिनाथ मन्दिरको प्रवेशद्वारबाट एक युवा जोडी मित्र प्रवेश गर्न खोजेको भिडियो सामाजिक सञ्जालको टिकटकमार्फत सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको हो।

पशुपति क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त संवेदनशील एवं महत्वपूर्ण क्षेत्र भएकाले यसको सुरक्षा, धार्मिक मर्यादा र व्यवस्थापनप्रति कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने कोषले स्पष्ट पारेको छ।

प्रहरी र साइबर ब्युरोलाई पत्राचार

कोषले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उक्त घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सार्वजनिक गर्ने व्यक्तिमाथि हेर्दैसम्मको कारबाही तथा सजायका लागि नेपाल प्रहरी, साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णय गरेको छ।
यसले सामाजिक सञ्जालमा भिडियो बनाएर वा सार्वजनिक गरेर धार्मिकस्थलको संवेदनशीलता प्रभावित पार्ने गतिविधिमाथि समेत अनुसन्धान अघि बढाउने संकेत गरेको छ।

पाँच सदस्यीय छानबिन समिति गठन

घटनाको वास्तविकता पत्ता लगाउन कोषले पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। समितिलाई घटनाको सत्यतथ्य यथार्थ रूपमा पत्ता लगाई सुझावसहितको प्रतिवेदन पेस गर्न एक हप्ताको समयसीमा तोकिएको छ।

समितिले मन्दिरको प्रवेश तथा सुरक्षा व्यवस्थामा कहाँ कमजोरी भयो, कसरी उक्त घटना हुन पुग्यो र सम्बन्धित पक्षको जिम्मेवारी के हो भन्ने विषयमा छानबिन गर्नेछ।

सुरक्षा व्यवस्थामा थप कडाइ

कोषले पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सुरक्षा कार्यलाई मजबुत बनाउने निर्णयसमेत गरेको छ।

विशेषगरी मन्दिरको मूल प्रवेशद्वारलगायत संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थामा कमजोरी हुन नदिन कोषले सम्बन्धित निकायलाई थप जिम्मेवार र सचेत हुन निर्देशन दिएको छ।

कर्मचारी र सुरक्षाकर्मीको कमजोरीप्रति क्षमायाचना

घटनामा पशुपतिनाथ मन्दिर परिसरमा खटिएका कोषका कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल सरकारबाट खटिएका विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मीबाट कमजोरी भएको भए त्यसप्रति कोषले क्षमायाचना गर्ने निर्णय पनि गरेको छ।

कोषले घटनाप्रति चिन्ता, चासो तथा प्रतिक्रिया व्यक्त गर्ने सम्पूर्ण संघ–संस्था तथा महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूले उठाएका चिन्ता र चासोलाई सम्बोधन गर्न कोष प्रतिबद्ध रहेको जनाएको छ।

कोषले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्दै दर्शनार्थी, भक्तजन, तीर्थयात्री, पर्यटक तथा आम नागरिकको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ।

साथै, आधिकारिक सूचना र तथ्यमा विश्वास गरी धार्मिक आस्था, आपसी सहिष्णुता र सद्भाव कायम राख्न सम्बन्धित सबै पक्ष तथा आम नागरिकलाई कोषले आग्रह गरेको छ।

पशुपतिनाथजस्तो संवेदनशील धार्मिकस्थलको प्रवेश तथा सुरक्षा व्यवस्थामा भएको कमजोरीप्रति कोषले अब छानबिन र कानुनी प्रक्रियामार्फत जवाफदेहिता खोज्ने भएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box