महोत्तरीबाट भागेका तीन किशोरी भारतको लुधियानाबाट उद्धार, परिवारको जिम्मा

महोत्तरी । महोत्तरीको जलेश्वरस्थित एक मदरसाबाट भागेका तीन किशोरीलाई भारतको लुधियानाबाट उद्धार गरी नेपाल ल्याइएको छ। भारत तथा नेपाल प्रहरीसँगै आफन्त नेपाल र आफन्त इन्डिया फाउण्डेशनको समन्वयमा उद्धार गरिएका उनीहरूलाई प्रारम्भिक बयानपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Advertisement

जलेश्वर नगरपालिका–२ स्थित मदरसा सैईदा फातिमा लिल्बेनातबाट गत भदौ २७ गते शनिबार बिहान अन्दाजी १५, १६ र १७ वर्षका तीन किशोरी सम्पर्कविहीन भएका थिए। परिवारले खोजीका क्रममा उनीहरू भारतको लुधियाना पुगेको जानकारी पाएपछि उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको थियो।

परिवारबाट प्राप्त सूचनाका आधारमा किशोरीहरूकै नाताका एक व्यक्तिले उनीहरूलाई रेलमा फेला पारेका थिए। त्यसपछि ती व्यक्तिले किशोरीहरूलाई लुधियानास्थित आफ्नै घरमा राखेका थिए।

किशोरीहरूलाई लुधियानासम्म पुग्न एक आफन्त युवाले सहयोग गरेको जानकारी परिवारले पाएपछि उनीसँग सोधपुछ गरिएको थियो। त्यसक्रममा किशोरीहरू चढेको रेलको नाम, नम्बर र यात्रा समयबारे जानकारी प्राप्त भएपछि आफन्त इन्डिया फाउण्डेशन तथा पञ्जाब प्रहरीको टोलीले लुधियानास्थित घरबाट उनीहरूको उद्धार गरेको जनाइएको छ।

उद्धारपछि किशोरीहरूलाई भारतको दिल्लीस्थित नेपाली दूतावासमा पुर्‍याइएको थियो। आफन्त इन्डियाको सहजीकरणमा परिवारसहित उनीहरूलाई गत सोमबार नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको थियो।
जिल्ला प्रहरी कार्यालयमा प्रारम्भिक बयान लिएपछि तीनै किशोरीलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

मोबाइलको विषयमा विवादपछि मदरसा छाडेको किशोरीहरूको भनाइ
आफन्त नेपालको उपस्थितिमा किशोरीहरूले दिएको प्रारम्भिक बयानअनुसार मदरसामा मोबाइल फोनको विषयलाई लिएर आफूहरूमाथि कुटपिट तथा गालीगलौज भएपछि रिसाएर मदरसा छाडेको बताएका छन्।

मदरसामा विद्यार्थीलाई मोबाइल राख्न अनुमति नरहेको अवस्थामा आफूहरूसँग मोबाइल भेटिएपछि महिला शिक्षकले कुटपिट गरेको उनीहरूको आरोप छ। त्यसपछि मदरसामा अध्ययन नगर्ने भन्दै आफूहरू त्यहाँबाट निस्किएको प्रारम्भिक बयानमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले किशोरीहरूले दिएको बयान प्रारम्भिक रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

मदरसा पक्षद्वारा कुटपिटको आरोप अस्वीकार

किशोरीहरूले लगाएको कुटपिट तथा दुर्व्यवहारको आरोप भने मदरसा पक्षले अस्वीकार गरेको छ।

मदरसाका सञ्चालक मटिहानी नगरपालिका–१, धिरापुर निवासी गुलाम मुस्तफा अन्सारीले विद्यार्थीहरूले संस्थाको नियमविपरीत काम गरेपछि शिक्षकहरूले गालीगलौज गर्दै सम्झाउने र अनुशासनमा राख्ने प्रयास गरे पनि कुटपिट वा यातना नदिएको दाबी गरेका छन्।

आफ्नो संस्थामा अध्ययन गर्ने बालिकालाई आफ्नै सन्तानसरह व्यवहार गर्दै शिक्षण गराउने गरिएको दाबी गर्दै अन्सारीले विद्यार्थीले गल्ती गरेपछि सम्झाउने र अनुशासनमा राख्ने जिम्मेवारी शिक्षकको पनि हुने बताएका छन्।

संस्थाको वैधानिकतामाथि पनि प्रश्न

किशोरीहरू मदरसाबाट भागेपछि स्थानीय प्रशासनले उक्त संस्थालाई अवैध भन्दै बन्द गराएको जनाइएको छ। तर, मदरसा पक्षले भने आफूहरूले सञ्चालन गरेको संस्था मदरसाका रूपमा नभई ‘कोचिङ सेन्टर’का रूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरिएको र स्थायी लेखा नम्बर (पान) समेत रहेको दाबी गरेको छ।

सञ्चालक अन्सारीका अनुसार संस्थालाई मदरसाका रूपमा दर्ता गराउन उनले २०७९ सालमै जलेश्वर नगरपालिकाको शिक्षा शाखामा आवश्यक कागजात बुझाएका थिए। तर, तत्कालीन सम्बन्धित अधिकारीहरूले बदनियतपूर्वक संस्था दर्ता नगरेको उनको आरोप छ।

कागजात अपुग भए वा दर्ताका लागि कुनै सुधार आवश्यक भए सम्बन्धित शाखाले आफूलाई जानकारी गराउनुपर्ने भए पनि हालसम्म त्यस्तो जानकारी नदिइएको अन्सारीको भनाइ छ।

उनले संस्थासम्बन्धी सम्पूर्ण कागजात जाँच गरी वास्तविक अवस्था सार्वजनिक गर्न जलेश्वर नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

तीन किशोरीको उद्धारपछि उनीहरूले लगाएको कुटपिटको आरोप र मदरसा पक्षको अस्वीकारबीच प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रारम्भिक बयानका आधारमा मात्रै आरोप पुष्टि भइसकेको अवस्था नरहेकाले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा घटनाको वास्तविकता स्पष्ट हुने प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box