वीरगञ्ज ८ । नारायणी अस्पतालको स्त्री तथा प्रसूति रोग विभागको आयोजनामा दुई दिने Gynecological Laparoscopic Workshop सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालमा असोज ७ र ८ गते आयोजित उक्त कार्यशालाका क्रममा ६ जना बिरामीको सफलतापूर्वक ल्यापारोस्कोपिक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
आधुनिक तथा न्यून आक्रामक शल्यक्रिया प्रविधिको प्रयोगलाई थप विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला Advanced Robotic/Laparoscopic Gynecologist तथा Gynae Onco Surgeon डा. वीरेन्द्र भगतको मार्गदर्शनमा सञ्चालन भएको थियो।
कार्यशालाका क्रममा डा. भगतको प्रत्यक्ष पर्यवेक्षणमा नारायणी अस्पतालका डा. शाहीन नाज अन्सारी, डा. मञ्जु कुमारी राय, डा. प्रिती यादव र डा. श्वेता गुप्ता सम्मिलित चिकित्सकीय टोलीले ६ जना बिरामीको ल्यापारोस्कोपिक शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
ल्यापारोस्कोपिक शल्यक्रियालाई सामान्यतया ‘दूर्बिन प्रविधिबाट गरिने शल्यक्रिया’ का रूपमा बुझिन्छ। यस प्रविधिमा परम्परागत शल्यक्रियाको तुलनामा शरीरमा ठूलो चिरा लगाउनु नपर्ने र सानो प्वालमार्फत आवश्यक उपकरण तथा क्यामेराको प्रयोग गरी शल्यक्रिया गर्न सकिने भएकाले बिरामीका लागि विभिन्न हिसाबले सहज हुने चिकित्सकहरू बताउँछन्।
यस प्रविधिको प्रयोगबाट शल्यक्रियापछि हुने असहजता कम हुनुका साथै बिरामीको अस्पताल बसाइ तथा दैनिक गतिविधिमा फर्किने प्रक्रियामा समेत सहजता आउन सक्ने अपेक्षा गरिएको छ।
कार्यशालामा भएका शल्यक्रियाहरू सफल बनाउन एनेस्थेसिया टोली तथा शल्यक्रिया कक्ष (OT) का कर्मचारीहरूको समन्वय, उत्कृष्ट टिमवर्क र सहयोग महत्वपूर्ण रहेको अस्पतालले जनाएको छ। चिकित्सक, एनेस्थेसिया टोली तथा OT कर्मचारीबीचको प्रभावकारी सहकार्यका कारण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको अस्पतालको भनाइ छ।
नारायणी अस्पतालमा आधुनिक शल्यक्रिया प्रविधिको सेवा विस्तार हुँदै जानुले वीरगञ्ज तथा आसपासका क्षेत्रका स्त्री तथा प्रसूति रोगसम्बन्धी बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको छ। यसबाट जटिल उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय, आधुनिक र सहज स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने दिशामा थप योगदान पुग्ने अस्पतालले विश्वास व्यक्त गरेको छ।
कार्यशालाले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आधुनिक ल्यापारोस्कोपिक प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसरसमेत प्रदान गरेको छ। आगामी दिनमा यस्ता आधुनिक उपचार पद्धतिलाई निरन्तरता दिँदै सेवा विस्तार गर्ने अस्पतालको प्रयास रहने जनाइएको छ।




