वीरगञ्ज असोज ९ । नेपालमा मनसुनजन्य विपद्को जोखिम पुनः बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
नेपाल मौसम विज्ञान विभागले मंगलबार जारी गरेको विशेष मौसम समाचार बुलेटिनलाई आधार बनाउँदै प्रशासनले आगामी दिनमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने जनाएको छ।
विभागका अनुसार उत्तर अण्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै Deep Depression (बलियो न्यून चापीय क्षेत्र) तर्फ सर्ने देखिएको विभागले जनाएको छ।
यस मौसम प्रणालीको प्रभावका कारण बुधबारदेखि नै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। आगामी दिनमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले वर्षा र बाढीजन्य जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। प्रशासनले विशेषगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्था र स्थानीय प्रशासनको सूचनामा ध्यान दिन आग्रह गरेको छ।
यस्ता छन् प्रशासनका सुझाव
जिल्ला प्रशासन कार्यालयले अत्यन्त जरुरी नभएसम्म रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, साना तथा ठूला खोलानदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ।
अचानक बाढी आउन सक्ने खोला, खहरे, नदी किनारका बस्ती तथा पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई थप चनाखो रहन प्रशासनले अनुरोध गरेको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको ११५५, विपद्मा सहयोगका लागि नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
त्यसैगरी, नेपाल मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायलाई समेत आवश्यक तयारी र पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।




