पोखरिया ७ असोज । पोखरिया नगरपालिका–८, जगतपुरस्थित अस्पतालमा बुधबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा विभिन्न सामाजिक संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा स्थानीय क्षेत्रका २ सय २८ जनाको निःशुल्क आँखा परीक्षण गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरिएको आयोजकले जनाएको छ। आँखा परीक्षणका क्रममा ५७ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र उनीहरूको निःशुल्क शल्यक्रिया गरिने बताइएको छ।
स्थानीय नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिकहरूले आँखाको परीक्षण तथा आवश्यक परामर्श दिएका थिए।
शिविर लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम, लायन्स क्लब अफ पोखरिया, लायन्स क्लब अफ वीरगञ्ज तथा श्री टैरी माई युवा क्लब, जगतपुर–मननपुरको सहयोगमा आयोजना गरिएको हो।
कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानी, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष गोविन्द प्रसाद कानु, लायन्स क्लब अफ सुप्रिमका अध्यक्ष पियुष दारूका, उपाध्यक्ष बी.कि. दारूका तथा श्री टैरी माई युवा क्लबका अध्यक्ष अभिषेक सर्राफलगायतको उपस्थिति रहेको थियो।
आयोजकहरूले ग्रामीण तथा स्थानीय क्षेत्रका नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता सामाजिक तथा स्वास्थ्य सेवामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने बताएका छन्।
शिविरबाट ठूलो संख्यामा स्थानीय नागरिकले निःशुल्क आँखा परीक्षण तथा औषधि सेवा पाउनुका साथै मोतियाबिन्दु भएका बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा पाउने भएपछि स्थानीयवासी लाभान्वित भएका छन्।




