१९ दिन होटलमा बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी ताहिर राइन कारागार चलान

Advertisement

जनकपुरधाम, ३१ भदौ । धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई अपहरण गरी जनकपुरका दुई होटलमा १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा मुख्य आरोपी ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।२३ वर्षीय राइनलाई धनुषा जिल्ला अदालतले २६ भदौमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनापछि विदेश फरार भएका राइनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत २५ साउनमा नेपाल ल्याइएको थियो । नेपाल ल्याइएपछि अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो ।
यसै प्रकरणमा पीडितलाई घटना २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत धनुषाले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेशअनुसार कवारीले धरौटी रकम बुझाएर रिहा भएका छन् ।
प्रहरीका अनुसार पीडित बालिकाको बयानका आधारमा वडाध्यक्ष कवारीलाई समेत गत शुक्रबार पक्राउ गरिएको थियो ।
पहिलो घटनापछि पनि भएन सुनुवाइ

प्रहरीका अनुसार यो प्रकरणसँग जोडिएका घटनाहरूमा जिल्ला अदालत धनुषामा दुईवटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा दुई जना प्रहरी कर्मचारीसहित करिब एक दर्जन व्यक्ति अभियुक्त बनाइएका छन् । अधिकांश अभियुक्तहरू अझै फरार रहेको प्रहरीले जनाएको छ ।
मुद्दामध्ये एउटा मानव बेचबिखन, अपहरण तथा शरीर बन्धकसम्बन्धी रहेको छ भने अर्को जबरजस्ती करणीसम्बन्धी मुद्दा हो ।

अभियोगअनुसार २९ चैत २०८१ मा बालिकाकी आमा खेतमा गएको समयमा घरनजिकै पसल सञ्चालन गर्ने ताहिर राइनले विवाहको प्रलोभन देखाएर बालिकालाई अपहरण गरी जनकपुर ल्याएका थिए । त्यसपछि विभिन्न होटलमा लगेर आफू तथा अन्य व्यक्तिहरूले जबरजस्ती करणी गरेको र पैसाको लेनदेनसमेत भएको आरोप छ ।

पीडित बालिका पछि त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । उनले ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको भए पनि समयमा प्रभावकारी सुनुवाइ नभएको परिवारको आरोप छ । त्यसबीच मुख्य आरोपी राइन विदेश भागेको बताइएको छ ।

फेरि अपहरण गरी १९ दिन होटलमा बन्धक
पहिलो घटनापछि पनि बालिका सुरक्षित रहन सकिनन् । १७ असार २०८२ मा बिहान करिब ४ बजे उनी पुनः अपहरणमा परेको जाहेरीमा उल्लेख छ ।

बालिका बाख्रा बाँध्न घरको दैलोमा निस्किएको समयमा गाडीमा आएका अञ्जली महरासहित तीन जनाले कपडाले आँखामा पट्टी बाँधेर अपहरण गरेको आरोप छ ।

त्यसपछि उनलाई जनकपुरधामको पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन र मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाएर राखिएको अभियोग छ ।

मुद्दाको मिसिलमा उल्लेख भएअनुसार उक्त अवधिमा होटल सञ्चालकसहितका प्रतिवादीहरूले बालिकामाथि जबरजस्ती करणी गरेको तथा ग्राहकबाट समेत रकम लिएर जबरजस्ती करणी गर्न लगाएको आरोप लगाइएको छ ।

यसरी बालिकालाई लगातार १९ दिनसम्म होटलमा बन्धक बनाएर यौन हिंसा गरिएको आरोपमा प्रहरी अनुसन्धान तथा अदालतको प्रक्रिया अघि बढिरहेको छ ।

दुई प्रहरीसमेत अभियुक्त
घटनासँग सम्बन्धित मुद्दामा दुई जना प्रहरी कर्मचारीसमेत अभियुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरी कर्मचारीसहित करिब एक दर्जन व्यक्तिमाथि विभिन्न अभियोगमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

यद्यपि, अधिकांश अभियुक्तहरू अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्तहरूको खोजी तथा पक्राउका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको बताएको छ ।
अझै सेफ हाउसमै पीडित

घटनापछि सुरक्षा चुनौती र चौतर्फी दबाबका कारण पीडित बालिका अझै
सेफ हाउसमै रहेको बताइएको छ । लामो समयसम्म बन्धक बनाएर यौन हिंसा गरिएको आरोपपछि उनको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

घटनाको संवेदनशीलता, अभियुक्तहरूको संख्या तथा केही अभियुक्त अझै फरार रहेकाले मुद्दाको आगामी कानुनी प्रक्रिया र अनुसन्धानलाई चासोका साथ हेरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box