वीरगन्ज ३० । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले आफूबाट भएका कमी–कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग क्षमा मागेका छन्।

क्यासिनो प्रकरणमा सोमबार साँझ धरौटीमा रिहा भएका अध्यक्ष यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै आफूबाट भएका त्रुटि तथा कमजोरीप्रति आत्मालोचना गरेका हुन्। उनले विगतका घटनाबाट पाठ सिक्दै आगामी दिनमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
अध्यक्ष यादवले फेसबुकमा लेखेका छन्, “मबाट भएका कमी–कमजोरी, त्रुटि वा निर्णयका कारण कसैको मन दुखेको भए म हृदयदेखि नै क्षमा चाहन्छु।”
उनले जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित र जवाफदेही रहने बताएका छन्। सार्वजनिक पदमा रहेकाले आफ्ना काम, निर्णय र व्यवहारप्रति जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गर्दै उनले आगामी दिनमा विगतका कमजोरी दोहोरिन नदिने संकेत गरेका छन्।
अध्यक्ष यादवले विगतमा भएका गल्तीबाट सिक्दै आफ्ना कमजोरी सुधार गर्ने र अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले देश, समाज तथा सखुवाप्रसौनी गाउँपालिकाका जनताको हितलाई प्राथमिकतामा राखेर आगामी दिनमा निरन्तर समर्पित रहने बताएका छन्।
उनको फेसबुक अभिव्यक्तिमा भनिएको छ, “जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित र जवाफदेही रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु। विगतका गल्तीहरूबाट सिक्दै र कमजोरीहरूलाई सुधार्दै अझ बढी जिम्मेवार भएर देश, समाज र सखुवाप्रसौनीका जनताको हितमा निरन्तर समर्पित रहने छु।”
अध्यक्ष यादवको यो अभिव्यक्ति क्यासिनो प्रकरणपछि सार्वजनिक भएको हो। उक्त प्रकरणमा उनीसँगै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलसमेत पक्राउ परेका थिए। घटनापछि अध्यक्ष यादवमाथि सार्वजनिक रूपमा विभिन्न प्रश्न उठ्दै आएको अवस्थामा उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जनतासँग क्षमा मागेका हुन्।
धरौटीमा रिहा भएपछि अध्यक्ष यादवले सार्वजनिक रूपमा आत्मालोचना गर्दै आगामी दिनमा आफ्नो भूमिका अझ जिम्मेवार बनाउने प्रतिबद्धता जनाउनुलाई राजनीतिक तथा सामाजिक वृत्तमा समेत चासोका साथ हेरिएको छ।
स्थानीय तहका जनप्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित हुने भएकाले उनीहरूको आचरण, निर्णय र सार्वजनिक गतिविधिप्रति नागरिकको चासो रहन्छ। यस्तो अवस्थामा अध्यक्ष यादवले गरेको आत्मालोचना र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धताले जनतामाझ पुनः विश्वास कायम गर्ने प्रयासका रूपमा अर्थ्याउन सकिन्छ।
यादवले आफ्नो अभिव्यक्तिमार्फत व्यक्तिगत कमजोरी सुधारसँगै जनताको विश्वासलाई उच्च प्राथमिकता दिने र सखुवाप्रसौनी गाउँपालिकाको हितमा थप जिम्मेवार भएर काम गर्ने सन्देश दिएका छन्।




