पर्साको जिराभवानीमा बाघको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु

पर्सा २६ । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। जिराभवानी गाउँपालिका–२ काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारूको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक सम्मुन्नत अधिकारीका अनुसार थारू बुधबार बिहान करिब १० बजे घरबाट घाँस काट्न भन्दै नजिकैको जंगलतर्फ गएका थिए। उनी साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य तथा आफन्तले खोजतलास सुरु गरेका थिए।

राति अबेरसम्म खोजी गर्दा पनि थारूको अवस्था पत्ता नलागेपछि स्थानीयवासीको सहयोगमा पुनः खोजीलाई निरन्तरता दिइएको थियो। खोजीका क्रममा बिहीबार बिहान सब–डिभिजन वन कार्यालय बसन्तपुरबाट करिब ५०० मिटर भित्र जंगल क्षेत्रमा थारूको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शवको अवस्था हेर्दा बाघको आक्रमणबाट उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल वन क्षेत्रमा पर्ने भएकाले बाघको गतिविधि र घटनाको वास्तविक कारणबारे वन कार्यालय तथा सुरक्षा निकायले थप अध्ययन गरिरहेका छन्। स्थानीयवासीले जंगल क्षेत्रमा बाघको गतिविधि बढ्दै गएको भन्दै सुरक्षा सतर्कता बढाउन माग गरेका छन्।

घटनापछि वन क्षेत्र आसपासका बस्तीमा त्राससमेत बढेको छ। विशेषगरी घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री संकलनका लागि जंगल जाने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

मृतक थारूको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पोस्टमार्टम तथा थप अनुसन्धानपछि घटनाको विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ।

स्थानीयवासीले वन क्षेत्रमा बाघको उपस्थिति बढेको अवस्थामा वन कार्यालय र सम्बन्धित निकायले तत्काल निगरानी तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग गरेका छन्। वन्यजन्तु संरक्षणसँगै मानव बस्ती र स्थानीयवासीको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box