लहान ६ साउन । गौ तस्करी भइरहेको भन्ने सूचना पाएपछि हिन्दु सम्राट सेना तथा हिन्दु समाजसँग आबद्ध व्यक्तिहरू घटनास्थल नजिक पुगेका छन्। घटनाबारे सूचना पाएलगत्तै उनीहरू घटनास्थलमा पुगेर प्रारम्भिक अवस्थाबारे जानकारी लिएका हुन्।
प्रारम्भिक जानकारीअनुसार घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूमध्ये तीन जना भारतको लौकहा क्षेत्रका र एक जना नरहा क्षेत्रका रहेको बताइएको छ। घटनामा लहानका सदाम मियाको नेतृत्व रहेको आरोपसमेत स्थानीयस्तरबाट आएको जनाइएको छ। यद्यपि, यी आरोप तथा व्यक्तिहरूको संलग्नताबारे सम्बन्धित सुरक्षा निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ।
घटनास्थलमा पुगेका हिन्दु समाजका प्रतिनिधिहरूले सम्बन्धित व्यक्तिहरूलाई तत्काल प्रहरीसमक्ष बुझाउने तयारी गरिएको बताएका छन्। प्रहरीका एसपी घटनास्थलमा आएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई प्रहरीको जिम्मा लगाउने उनीहरूको भनाइ छ।
हिन्दु समाज तथा हिन्दु सम्राट सेनाले घटनाको निष्पक्ष र गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूले कुनै व्यक्ति दोषी भएमा राजनीतिक दबाब, पहुँच वा प्रभावका आधारमा उन्मुक्ति दिन नहुने र प्रमाणका आधारमा प्रचलित कानुनअनुसार कडा कारबाही गर्नुपर्ने बताएका छन्।
“घटनाको निष्पक्ष छानबिन होस्। यदि गौ तस्करीमा संलग्न भएको प्रमाणित भएमा कसैको दबाब, पहुँच वा प्रभावमा नपरी प्रचलित कानुनअनुसार कडा कारबाही हुनुपर्छ,” उनीहरूको भनाइ छ।
गौ हिन्दु धर्म, आस्था र संस्कृतिसँग गहिरो रूपमा जोडिएको पवित्र जीव भएकाले गौ संरक्षण आफ्नो सामाजिक तथा सांस्कृतिक दायित्व भएको उनीहरूको भनाइ छ। तर गौ संरक्षणका नाममा कुनै पनि गैरकानुनी गतिविधि वा कानून हातमा लिने कार्य आफूहरूको उद्देश्य नभएको उनीहरूले स्पष्ट पारेका छन्।
उनीहरूले दोषी प्रमाणित हुने व्यक्तिमाथि कानुनी कारबाही र निर्दोष व्यक्तिलाई न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। साथै, घटनालाई धार्मिक संवेदनशीलताको विषय बनाउँदै सामाजिक सद्भावमा असर पर्ने कुनै गतिविधि नगर्नसमेत आग्रह गरिएको छ।
हिन्दु समाजका प्रतिनिधिहरूले “दोषीलाई कानुनी सजाय होस्, निर्दोषलाई न्याय होस्” भन्ने आफ्नो माग रहेको बताएका छन्।




