दिपक चौरसिया
वीरगञ्ज २६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको भनिएको घटनालाई लिएर राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले काठमाडौंको माइतीघर मण्डलामा गर्दै आएको आमरण अनशन सरकारसँग चारबुँदे लिखित सहमति भएपछि स्थगित गरेका छन्।
राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पूर्वेले जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष यादवले गत साउन १४ गतेदेखि आमरण अनशन सुरु गरेको उल्लेख छ। विज्ञप्तिअनुसार अनशनको १३औँ दिनसम्म यादवले हिन्दु धर्म, संस्कृति तथा पहिचानको संरक्षण, पीडितलाई न्याय र सुरक्षा व्यवस्थासहित विभिन्न छबुँदे माग राख्दै आन्दोलन गर्दै आएका थिए।
सरकारले यादवले उठाएका मागमध्ये तत्काल सम्बोधन गर्नुपर्ने विषयमा चारबुँदे लिखित सहमति गर्दै कार्यान्वयनको प्रतिबद्धता जनाएपछि आमरण अनशन तत्कालका लागि स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रिय एकता दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले गरेको प्रतिबद्धता यथाशीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ। साथै अध्यक्ष यादवले उठाएका अन्य मागप्रति समेत सरकारको गम्भीर ध्यानाकर्षण भएकाले ती माग सम्बोधन गर्न सरकारले आवश्यक पहल गर्ने अपेक्षा दलले गरेको छ।
विज्ञप्तिमा हिन्दु धर्म, संस्कृति तथा ऐतिहासिक पहिचानसँग सम्बन्धित विषयमा पार्टीले आफ्नो आन्दोलनलाई निरन्तरता दिने उल्लेख गरिएको छ। विकसित घटनाक्रमअनुसार आवश्यक आन्दोलनका कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय एकता दल तयार रहेको पनि जनाइएको छ।
राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पूर्वेद्वारा जारी विज्ञप्तिमा हिन्दु समुदायको हित, संरक्षण तथा प्रवर्द्धनका विषयलाई आगामी दिनमा समेत प्राथमिकताका साथ उठाइरहने प्रतिबद्धता व्यक्त गरिएको छ।




