दिपक चौरसिया
वीरगञ्ज, साउन १० — वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक मुटुरोगका बिरामीको निधन भएपछि उत्पन्न तनावका बीच मेडिकल अफिसर डा. प्रमोद राम माथि भएको साङ्घातिक आक्रमणप्रति चिकित्सक समुदायले गम्भीर आपत्ति जनाएको छ।
घटनापछि फ्रन्टलाइन डक्टर्स नेपाल (FDN) र नेपाल चिकित्सक संघ (NMA) नारायणी शाखा ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
नेपाल चिकित्सक संघ नारायणी शाखाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४४ वर्षीय राजकुमार पटेल लाई शुक्रबार बिहान करिब ११ बजे मुटुसम्बन्धी गम्भीर समस्याका कारण नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले उपलब्ध सबै आपत्कालीन उपचार सेवा प्रदान गर्दागर्दै बिरामीलाई बचाउन नसकिएको विज्ञप्तिमा उल्लेख छ।
संघका अनुसार बिरामीको निधनपछि घटनाको वास्तविकता नबुझी केही व्यक्तिहरूले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड, होहल्ला तथा आतंक सिर्जना गरेका थिए। विवाद समाधानका लागि छलफलमा गएका मेडिकल अफिसर डा. प्रमोद राम माथि अस्पताल बाहिर बाटोमै घेरा हालेर निर्घात कुटपिट गरिएको आरोप लगाइएको छ।
आक्रमणबाट गम्भीर घाइते भएका डा. रामको हाल अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचार भइरहेको छ। चिकित्सक संघले उनीमाथिको आक्रमणलाई अत्यन्त अमानवीय, निन्दनीय तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउने घटना भएको जनाएको छ।
संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ को स्मरण गराउँदै स्वास्थ्य संस्थामा तोडफोड, आगजनी, स्वास्थ्यकर्मीमाथि कुटपिट वा कुटपिटको प्रयास जस्ता कार्यहरू गैर-जमानती (Non-bailable) अपराध भएकाले दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।
नेपाल चिकित्सक संघ नारायणी शाखाले आफ्ना प्रमुख मागहरू सार्वजनिक गर्दै घटनामा संलग्न मुख्य अभियुक्तसहित सबै व्यक्तिको तत्काल पहिचान गरी निष्पक्ष अनुसन्धान गर्दै कानुनबमोजिम कारबाही गर्न, अस्पतालमा भएको भौतिक क्षति तथा घाइते चिकित्सकको उपचार खर्च दोषी पक्षबाट असुलउपर गराउन तथा देशभरका स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मीले डर, त्रास र दबाबविना सेवा दिन सक्ने सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।
त्यसैगरी फ्रन्टलाइन डक्टर्स नेपाल (FDN) ले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चिकित्सकमाथिको हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरेको छ। संस्थाले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।
नेपाल चिकित्सक संघ नारायणी शाखाले आफ्ना मागहरू बेवास्ता गरिए, दोषीलाई कानुनी संरक्षण दिने प्रयास भए वा पीडित चिकित्सकलाई न्याय नदिइए चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न कानुनसम्मत र सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिएको छ। साथै त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय र प्रशासनले नै वहन गर्नुपर्ने संघको भनाइ छ।
यस घटनाले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, अस्पतालभित्रको शान्ति व्यवस्था तथा उपचारका क्रममा हुने विवाद व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ। चिकित्सक संगठनहरूले स्वास्थ्य संस्थामा हिंसामुक्त वातावरण निर्माण गर्न राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।




