वीरगञ्ज ७ साउन । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका क्रममा सडक डिभिजन कार्यालय हेटौंडाले संरचना हटाउने अभियानमा भेदभावपूर्ण व्यवहार गरेको आरोप स्थानीयवासीले लगाएका छन्। अधिकांश संरचना तत्काल हटाइए पनि एडभान्स अस्पताल रहेको भवनलाई भने पटक–पटक अतिरिक्त समय दिइएको भन्दै स्थानीयले निष्पक्षता र समान व्यवहारमाथि प्रश्न उठाएका हुन्।
सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने संरचना हटाउने अभियानअन्तर्गत असार ३१ गतेसम्म एडभान्स अस्पताल आसपासका अधिकांश घर, पसल तथा अन्य संरचना भत्काइसकिएको थियो। त्यसपछि रथयात्रा पर्वलाई लक्षित गर्दै केही दिनका लागि अभियान स्थगित गरिएको थियो। साउन ६ गतेदेखि पुनः डोजर परिचालन गरी संरचना हटाउने काम सुरु भए पनि एडभान्स अस्पताल रहेको भवन भने अझै यथावत रहेपछि स्थानीय स्तरमा व्यापक चर्चा सुरु भएको छ।
स्थानीयवासीका अनुसार अस्पताल करिब १० दिनअघि नै अन्य स्थानमा स्थानान्तरण भइसकेको छ। अस्पतालको सेवा सञ्चालन अन्यत्र सारिसक्दा पनि पुरानो भवनलाई अझै नभत्काइनु र पटक–पटक अतिरिक्त समय दिइनुले प्रशासनको निष्पक्षतामाथि प्रश्न उठेको उनीहरूको भनाइ छ।
एक स्थानीयले भने, “हामीलाई सामान निकाल्नसमेत पर्याप्त समय दिइएन। कतिपयले आफ्नो सामानसमेत सुरक्षित रूपमा सार्न नपाउँदै डोजर चलाइयो। तर एउटै भवनलाई भने पटक–पटक समय थपिँदै गएको देखिन्छ। कानुन सबैका लागि समान हुनुपर्छ, कसैका लागि फरक मापदण्ड हुनु हुँदैन।”
अर्का स्थानीयका अनुसार सडक विस्तारजस्तो सार्वजनिक महत्वको योजनामा सबै संरचनामाथि एउटै मापदण्ड लागू गरिनुपर्छ। “कसैलाई केही मिनेट पनि नदिने र कसैलाई पटक–पटक समय थप्ने हो भने यसले अभियानको पारदर्शिता र विश्वसनीयतामाथि नै प्रश्न उठाउँछ,” उनले बताए।
स्थानीयहरूले सडक विस्तारको कार्यमा कुनै पनि व्यक्ति, संस्था वा व्यवसायलाई विशेष सुविधा नदिई समान कानुनी प्रक्रिया अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार विकास निर्माणका काममा समान व्यवहार भए मात्र जनविश्वास कायम रहन्छ।
यस विषयमा सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर दुर्गा प्रसादसँग प्रतिक्रिया माग्दा सम्बन्धित भवनलाई शुक्रबारसम्मको समय दिइएको जानकारी दिए। उनका अनुसार तोकिएको समयभित्र भवन हटाइएमा स्वेच्छाले संरचना हटाएको मानिनेछ, अन्यथा कानुनी प्रक्रिया अनुसार कार्यालय आफैंले आवश्यक कदम चाल्नेछ।
हाल वीरगञ्जको मेनरोड विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ। सडकको निर्धारित सीमाभित्र पर्ने घर, पसल तथा अन्य संरचना हटाउने कार्य निरन्तर जारी रहे पनि एडभान्स अस्पताल भवनलाई पटक–पटक समय दिइएको विषयले स्थानीय तहमा बहस र विवाद चुलिएको छ। स्थानीयहरूले अब सम्बन्धित निकायले सबै संरचनामाथि समान मापदण्ड लागू गर्दै निष्पक्ष र पारदर्शी ढंगले अभियान अगाडि बढाउनुपर्ने माग गरेका छन्।




