जिल्ला प्रहरी कार्यलय पर्साले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न पत्रकार महासंघ पर्साको आग्रह

वीरगञ्ज, साउन ६ — नेपाल पत्रकार महासंघ पर्सा शाखाले सञ्चारमाध्यममाथि प्रशासनिक दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

Advertisement

महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा वीरगञ्जबाट प्रसारण हुने My TV मा प्रसारित एक समाचारलाई लिएर जिल्ला प्रहरी कार्यालय, पर्साले उक्त सञ्चारमाध्यमलाई पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिअनुसार वीरगञ्ज महानगरपालिका–३१ का वडाध्यक्षले जिल्ला प्रशासन कार्यालय, पर्सामा दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले समाचारसँग सम्बन्धित स्पष्टिकरण माग गर्दै My TV लाई पत्र पठाएको उल्लेख गरिएको छ।

महासंघले कुनै पनि सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भएमा सर्वप्रथम सम्बन्धित सञ्चारमाध्यमसँग खण्डन, स्पष्टिकरण वा प्रतिक्रिया माग्ने व्यवस्था रहेको स्मरण गराएको छ। त्यसबाट पनि चित्त नबुझे प्रेस काउन्सिल नेपालजस्ता अधिकारप्राप्त निकायमा उजुरी दिई कानुनी उपचार खोज्न सकिने स्पष्ट व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।

पत्रकार महासंघ पर्साले सञ्चारसम्बन्धी विवादमा कानुनले तोकेको प्रक्रिया र अधिकारप्राप्त निकायलाई बेवास्ता गर्दै स्थानीय प्रशासनमा उजुरीका आधारमा प्रहरीमार्फत सञ्चारमाध्यमलाई पत्र काटिनु कानुनी तथा लोकतान्त्रिक अभ्यासअनुकूल नभएको जनाएको छ। यस्ता गतिविधिले सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने खतरा रहेको महासंघको ठहर छ।

महासंघले संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र पत्रकारिताको अभ्यासमा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप स्वीकार्यN नहुने स्पष्ट गरेको छ। समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्नेमा प्रहरी प्रशासनमार्फत मानसिक दबाब सिर्जना गर्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल पत्रकार महासंघ पर्साले सम्बन्धित सबै पक्षलाई संविधान, प्रचलित कानुन र स्थापित लोकतान्त्रिक अभ्यासको सम्मान गर्दै प्रेस स्वतन्त्रतामा हस्तक्षेप हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। यस्ता प्रवृत्ति दोहोरिए महासंघ स्वतन्त्र प्रेस, पत्रकारको पेशागत अधिकार तथा संवैधानिक प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवश्यक संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत दिएको छ।

महासंघका सचिव विजयकुमार महतो द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ भएकाले यसको सम्मान र संरक्षण सबै पक्षको साझा दायित्व भएको उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box